काठमाडौंको गोंगबु क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगद र सुन बरामद गरेको छ। मंगलबार दिउँसो प्रहरीले ७६ वर्षीय विनोदकुमार श्रेष्ठको तीनतले घरमा छापा मार्दा करिब सवा चार करोड रुपैयाँ नगदसहित ९ किलोभन्दा बढी सुन बरामद गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार घरबाट चार करोड २५ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। ठूलो रकम बरामद भएपछि प्रहरीले नगद गणना गर्न बैंकबाट नोट गन्ने मेसिन समेत ल्याएको थियो।
प्रहरीको आरोप अनुसार विनोद श्रेष्ठले पैसा मिटरब्याजमा लगाउने र सुन धितोका रूपमा लिने गरेका थिए। बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको छ।
सोही घरमा गरिएको थप खोजीमा सुनका गहना मात्रै ९ किलोभन्दा बढी र चाँदीका गहना करिब ३ किलो बरामद भएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उक्त घरमा छापा मारेको हो।









