१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु



सुनसरीको झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु भएको छ। मृतकमा धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव रहेका छन्।

उराँव कर्तव्यज्यान मुद्दामा २५ वर्षको सजाय भुक्तान गरिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थुनामा थिए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै कैदीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उराँवको सोमबार दिउँसो र राईको मंगलबार बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

लगातार कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ। पछिल्ला १३ दिनमै झुम्का कारागारमा तीन कैदीको मृत्यु भएको हो। यसअघि भदौ ४ गते भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रमुख जिल्ला अधिकारी मिश्रले मृत्यु भएका तीनै कैदी दीर्घ रोगी भएको स्पष्ट गर्दै कारागारको व्यवस्थाका कारण मृत्यु नभएको दाबी गरेका छन्। “बिरामी कैदीहरू अन्य जिल्लाबाट उपचारका लागि ल्याइएका थिए र गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका थिए,” उनले बताए।

हाल झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन्। सुरक्षा समितिले कैदीहरूको स्वास्थ्य विवरण संकलन गर्ने, गम्भीर बिरामीलाई स्थानान्तरण गर्ने लगायतका योजना अघि सारेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ५१ बजे