धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले आफ्नो दलको झन्डा नहुने स्पष्ट पारेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले पार्टीको झन्डा नहुने दुई कारण सार्वजनिक गरेका छन्।
“हाम्रो पार्टीको झन्डा रहने छैन,” उनले लेखेका छन्, “१. कपडाको नाश गर्न चाहनौँ। गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न। २. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।”
निर्वाचन आयोगले दल दर्ताका लागि साम्पाङबाट आएको निवेदन अध्ययन भइरहेको र दसैँ बिदा सकिएलगत्तै निर्णय हुने जनाएको छ।
धरानमा खानेपानी अभावलाई मुख्य मुद्दा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेका साम्पाङ अहिले समेत श्रममार्फत खानेपानी समस्या समाधान गर्न सक्रिय छन्। उनले देश बनाउन सबैले श्रमलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
यसअघि जेनजी आन्दोलनपछि कांग्रेस–एमाले गठबन्धनको सरकार ढली अन्तरिम सरकार गठन भइसकेको छ। प्रतिनिधि सभा विघटन भई आगामी फागुन २१ गतेका लागि चुनाव तोकिएको सन्दर्भमा साम्पाङले आफ्नै पार्टी खोलेका हुन्।









