१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

रोमानियामा होटल आगलागी, दुई नेपाली महिलाको मृत्यु



रोमानियाको प्रहोभा सहरस्थित एक होटलमा भएको भीषण आगलागीमा दुई नेपाली महिलाको ज्यान गएको छ।

हिजो साँझ आगलागी भएको होटल डाले राजधानी बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा पर्छ। सोही होटलमा काम गर्दै आएकी २१ वर्षीया राई र २४ वर्षीया तामाङ थरकी नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो।

नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाका अनुसार, “होटलको माथिल्लो तलामा सुतेकै अवस्थामा दुबै महिलाको मृत्यु भएको हो। आगलागीमा परेका अरू दुईमध्ये एक जनाको अस्पतालमा उपचार भइरहेको छ भने अर्को जना सकुशल छन्।”

स्थानीय सञ्चार माध्यमका अनुसार आगलागी भएको होटललाई अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण एक हप्ता अघि नै प्रशासनले बन्द गराएको थियो।

घटनाबारे जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जानकारी पाएको र रोमानियास्थित नेपाली समुदायसँग समन्वय गर्दै आवश्यक पहल भइरहेको जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : १४ बजे