२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

रुकुम पश्चिममा जीप दुर्घटना, आठ जनाको मृत्यु, १० घाइते



क्षमताभन्दा दोब्बर यात्रु बोकेको जीप शुक्रबार साँझ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्ने भीरबाट खस्दा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिकाको सिम्रुतुबाट पाँच वटा प्रहरी पोस्ट पार गर्दै यात्रु ओरालेर गन्तव्यतर्फ गइरहेको जीप साँझ करिब ५ बजेतिर दुर्घटनामा परेको हो । आठबीसकोटको स्यालाखदी र गोतामकोटलाई जिल्ला सदरमुकामसँग जोड्ने निर्माणाधीन सडकखण्डमा रा १ ज ४२२ नम्बरको उक्त जीप सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

नौ जनाको क्षमता भएको जीपमा १८ जना यात्रु सवार थिए । क्रिस्चियन समुदायले त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा आयोजना गरेको ‘जवान संगती’ कार्यक्रममा सहभागी भएर घर फर्कँदै गरेका यात्रु उक्त दुर्घटनामा परेका हुन् ।

घाइते नवीन एरीका अनुसार चालकले प्रहरी पोस्ट पार गर्न यात्रुहरूलाई बीचबीचमा ओराल्दै ल्याएको र केही पर गएपछि गाडीको कुनै पार्ट भाँचिएको बताएलगत्तै जीप अनियन्त्रित भएर भीरमा खसेको बताएका छन् । “चारवटा प्रहरी पोस्टमा केही यात्रु ओरालेर पार गरेको थाहा छ । केही पर गएपछि ड्राइभरले कुनै पार्ट भाँचिएको कुरा गर्ने बित्तिकै गाडी खसिहाल्यो । पछाडि बसेका हामी हाम फालेर बाँच्यौं,” एरीले भने ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका–१ का टेकजंग बुढा, कल्पना नेपाल र दिलमाया बुढा, वडा २ का मनिका ओली, शर्मिला विक, गोपाल ओली र सविता विक तथा वडा ३ की कमला ओलीको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  १० : ४५ बजे