२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

३६ सहसचिवको सरुवा, ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर



गृहमन्त्रालयले देशभरका ३६ जना सहसचिवहरूको सरुवा गरेको छ। आइतबारको निर्णयअनुसार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर भएका छन्। यसअन्तर्गत ललितपुर र भक्तपुरसहितका जिल्लामा नयाँ सीडीओहरू नियुक्त भएका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। उनी यसअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक थिए। हाल ललितपुरका सीडीओ सुमन घिमिरेलाई सो विभागको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, भक्तपुरमा उमेशकुमार ढकाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। उनी यसअघि काभ्रेपलान्चोकका सीडीओ थिए। भक्तपुरका तत्कालीन सीडीओ नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा गरिएको छ।

यस्तै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेलाई लमजुङ पठाइएको छ। कैलालीका सीडीओ कृष्णप्रसाद लम्साललाई नवलपरासी र नवलपरासीका सीडीओ हिरालाल रेग्मीलाई कैलाली सरुवा गरिएको छ।

त्यस्तै, महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाललाई दोलखा, दोलखाका सीडीओ भोला दाहाललाई पर्सा, पर्साका सीडीओ तोयानारायण सुवेदीलाई अर्घाखाँची र उदयपुरका सीडीओ प्रेमप्रसाद लुईँटेललाई धनुषा सरुवा गरिएको छ।

गृहमन्त्रालयका अनुसार, यो सरुवा निर्णय प्रशासनिक सन्तुलन र कार्यसम्पादन सुधारका उद्देश्यले गरिएको हो। सरुवामा परेका अधिकारीहरूले छिट्टै नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  १० : १५ बजे