बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो । ताप्लेजुङका स्थायी निवासी शेर्पा एमालेको जनसंगठन जनजाति महासंघ का केन्द्रीय अध्यक्षसमेत हुन् ।
तीन वर्षअघि नै अदालतले शेर्पालाई बहुविवाहको अभियोगमा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । तर, उनले अदालतको फैसला अटेर गर्दै शक्तिको आडमा लामो समयदेखि सजाय कार्यान्वयन हुन नदिएको बताइन्छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, अदालतको फैसला कार्यान्वयन गर्न शेर्पालाई पक्राउ गरिएको हो । “उनीमाथि अदालतले तोकेको सजाय भुक्तानका लागि पक्राउ गरिएको हो,” एसपी भट्टराईले भने ।
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध शेर्पा उच्च अदालत पाटन पुगेका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।
प्रहरीले उनलाई बुधबार जिल्ला अदालत काठमाडौंमा पेश गरेर सजाय कार्यान्वयनको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।









