२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

कांग्रेसको १५औँ महाधिवेशनका लागि दुई फरक मिति प्रस्ताव



नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा आजको केन्द्रीय समिति बैठकमा दुई फरक प्रस्ताव पेस भएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले फरक–फरक मिति र कार्यक्रम तालिका प्रस्तुत गरेका हुन्।

महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्। उनले क्रियाशील सदस्यता नवीकरण र वितरण १० मंसिरमा सुरु गरी १० देखि २० मंसिरसम्म छानबिन सम्पन्न गर्ने योजना अघि सारेका छन्। २४ मंसिरमा सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण गरी २७ मंसिरमा वडा अधिवेशन, ५ पुसमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेर अन्ततः १६ देखि १९ पुससम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव उनले बैठकमा प्रस्तुत गरे। थापाको भनाइमा, पार्टीलाई नयाँ नेतृत्वसहित सुदृढ बनाएर आगामी निर्वाचनमा जानु अहिलेको आवश्यकता हो।

त्यस्तै, संस्थापन समूहका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी वर्ष वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। यादवले २० मंसिरसम्म क्रियाशील सदस्यता नवीकरण, ५ पुससम्म नयाँ वितरण र २० पुससम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने तालिका पेस गरेका छन्। उनले १ चैतमा वडा अधिवेशन, ५ चैतमा पालिका अधिवेशन, १२ चैतमा प्रदेश क्षेत्रीय अधिवेशन, २० चैतमा संघीय क्षेत्रीय अधिवेशन, ३० चैतमा जिल्ला अधिवेशन र १५ वैशाखमा प्रदेशस्तरीय अधिवेशन सम्पन्न गरी अन्ततः वैशाखको अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।

सहमहामन्त्री यादवले चुनावपछि मात्र महाधिवेशन गर्नु उचित हुने तर्क गर्दै पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “महाधिवेशनअघि चुनावमा गएर विगतमा भएको अन्तरघातको पुनरावृत्ति हुनुहुँदैन, त्यसैले यो पटक पहिले निर्वाचन र पछि महाधिवेशन गर्नुपर्छ।”

बैठकमा दुबै प्रस्तावमाथि छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ। कांग्रेसभित्र अहिले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद तीव्र बनेको छ। इतर पक्षले चुनावअघि महाधिवेशन गरेर नयाँ नेतृत्वको म्यान्डेटसहित निर्वाचनमा जानुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले आगामी संघीय चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेको छ। बैठकले अन्ततः कुन मिति अनुमोदन गर्ने भन्ने विषयमा केही दिनभित्र निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  ९ : ५१ बजे