२ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025

जेनजी आन्दोलनमा लुटिएका ७१८ थान हतियार फिर्ता, ४४८ प्रहरी युनिट पुनः सञ्चालनमा




जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७१८ थान फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार आन्दोलनका क्रममा करिब १२ सय हतियार लुटिएका थिए । “हतियार फिर्ताका लागि संयुक्त अपरेसन भइरहेको छ,” मन्त्री अर्यालले बैठकमा भनेका छन् । प्रहरी प्रशासनले हतियार फिर्ता गर्न पटक–पटक आग्रह गर्दै आएको थियो ।

आन्दोलनका कारण क्षतिग्रस्त ४६५ प्रहरी युनिटमध्ये अहिले ४४८ युनिट पुनः सञ्चालनमा आइसकेका छन् । यसबीचमा ४२९ जनालाई पक्राउ गरिएको र आपराधिक गतिविधिमा संलग्न १६८ जनामाथि मुद्दा दायर गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आन्दोलनको अव्यवस्थाका कारण फरार भएका ९ हजार ४ सय ४१ कैदी कारागारमा फिर्ता भइसकेका छन्, भने अझै ५ हजार १३ जना फरार रहेको गृहमन्त्री अर्यालले बताए । उनका अनुसार फरार कैदीहरूको सूची सार्वजनिक गरिएको छ ।

“फरार कैदी र लुटिएका हतियार फिर्ता गर्नु अहिले सरकारको प्रमुख चुनौती हो,” गृहमन्त्री अर्यालले भने, “फागुन २१ गते निर्धारित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य हो ।”

मन्त्री अर्यालले सरकार निर्वाचन समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै जनताबाट निर्वाचित प्रतिनिधिलाई सकेसम्म चाँडो सत्ता हस्तान्तरण गर्न तयारी भइरहेको बताए । उनका अनुसार युवा पुस्तालाई मतदानको अवसर दिलाउन मतदाता नामावली ऐन, २०७३ संशोधन गरिएको छ, जसबाट दुई लाखभन्दा बढी नयाँ मतदाता थप भएका छन् ।

गृहमन्त्री अर्यालका अनुसार सबै सुरक्षा निकायहरूको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ ।

अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकारको अधिकार दिलाउन कानुनी संशोधनको गृहकार्य भइरहेको पनि जानकारी दिए । “यसको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यता अध्ययन गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी दिइएको छ,” उनले भने, “प्रतिष्ठानले सरोकारवालाहरूसँग छलफल गरी अन्तर्राष्ट्रिय अभ्यासका आधारमा प्रतिवेदन पेस गर्नेछ ।”

जिल्ला सुरक्षा समितिहरूले जोखिम मूल्यांकनका आधारमा मतदान केन्द्रहरूको प्रतिवेदन बुझाएको र क्षतिग्रस्त मतदान केन्द्र पुनर्निर्माणका लागि स्थानीय पालिकासँग समन्वय भइरहेको पनि गृहमन्त्रीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  ८ : ४३ बजे