नेपाली कांग्रेसका सभापति गगन थापाले युवा पुस्तालाई भविष्यको कर्णधारका रूपमा मात्र नहेरी वर्तमानको साझेदार बनाएर सँगै लैजाने उद्घोष गरेका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले कांग्रेसले आफ्नो सोच, संकल्प र कार्यशैलीमा आमूल परिवर्तन गरेको बताउँदै अबको यात्रा युवाहरूसँगको सहकार्यमा हुने स्पष्ट पारेका हुन् ।
थापाले ‘बदलिएको कांग्रेस’ को व्याख्या गर्दै नयाँ भन्नुको अर्थ पुरानो विरासतसँगको सम्बन्धविच्छेद नभएको प्रष्ट पारे । “प्रजातन्त्र, सामाजिक न्याय, विविधता र समावेशिता हाम्रो जरा हो,” उनले भने, “नयाँ कांग्रेसले यी जराहरूलाई अझ फैलाउनेछ र हिजोका गल्तीहरू सच्याउँदै देश विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नेछ।”
सत्ताका लागि सिद्धान्तसँग सम्झौता नगर्ने संकल्प
सभापति थापाले कांग्रेसलाई केवल ‘चुनाव जित्ने मेसिन’ का रूपमा मात्र सीमित नराखी सामाजिक आन्दोलनको ट्रयाकमा फर्काउने प्रतिबद्धता जनाए । सत्ता प्राप्तिका लागि जोसुकैसँग मिल्ने र जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गर्दै उनले भने, “बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई राख्दैन। सत्ता टिकाउनका लागि सिद्धान्तसँग सम्झौता गर्नुभन्दा बरु आनन्दले सरकार बाहिर बस्न तयार छ।”
गुनासो सम्बोधन भयो, अब मत माग्ने हक छ
विगतमा अन्य पार्टीको चुनाव चिह्नमा भोट हाल्न लगाइएको प्रति नागरिकमा रहेको गुनासोलाई आफूहरूले जोखिम उठाएरै सच्याएको उनको भनाइ थियो । आम नागरिकको चाहना बमोजिम पार्टीमा सुधार ल्याइएकाले अब आफूहरूले ढुक्कसँग मत माग्ने आधार तयार भएको थापाले बताए । “तपाईंको विश्वासमा हामीले परिवर्तन गर्यौं, अब हामी हकका साथ भन्छौं, यसपालि हामीलाई मत दिनुपर्छ,” उनले भने ।
उत्तेजना होइन, सुदृढ व्यवस्थाको राजनीति
पार्टी छाडेका र निष्क्रिय भएका कार्यकर्ताहरूलाई घर फर्कन आह्वान गर्दै सभापति थापाले कांग्रेसले घृणा र उत्तेजनाको राजनीति नगर्ने बताए । सबैलाई मिलाएर लैजाने र नेपालको शासन गर्ने ‘गति र मति’ दुवै सुधार्ने संकल्पका साथ आफूहरू मैदानमा उत्रिएको उनले उल्लेख गरे ।









