२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकायमा राजीनामा र बिदा रोक



आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मुलुकका चारवटै सुरक्षा निकायले आफ्ना कर्मचारीलाई राजीनामा दिन र घरबिदा बस्न रोक लगाएका छन् ।

निर्वाचन सुरक्षाका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा आएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले मातहतका सबै युनिटहरूमा आन्तरिक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीद्वारा विज्ञप्ति जारीसशस्त्र प्रहरी बलले मंगलबार नै विज्ञप्तिमार्फत निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा, घरबिदा, सरुवा र रमाना स्थगित गरिएको जनाएको छ । सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार निर्वाचनमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सबै बिदा बन्द गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सेना निर्वाचन सुरक्षाका लागि बुधबार (२१ माघ) बाटै फिल्डमा तैनाथ भइसकेको जानकारी दिएका छन् ।

“फौज निर्वाचन केन्द्रित भइसकेकाले नियमित अवस्थाको जस्तो राजीनामा वा बिदाको सुविधा अहिले रहँदैन,” उनले भने । त्यसैगरी नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले देशभरका प्रहरीलाई निर्वाचन नसकिएसम्म बिदामा नबस्न निर्देशन दिइएको बताए । यद्यपि, किरिया, सुत्केरी र अन्य अति नै गम्भीर वा भैपरी आउने परिस्थितिको हकमा भने विशेष व्यवस्थापन गरिने उनले स्पष्ट पारे । सुरक्षा परिचालनको तथ्याङ्कनिर्वाचनका लागि देशभर सवा तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

प्रकाशित मिति : २३ माघ २०८२, बिहिबार  ११ : १८ बजे