२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

वाशिङ्गटन पोस्टमा ‘ब्ल्याक वेनस्डे’, तीन सय पत्रकार निस्कासित



विश्वका प्रतिष्ठित सञ्चार माध्यममध्येको एक ‘द वाशिङ्गटन पोस्ट’ ले बुधबार आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गरेको छ । समाचार संस्थाले आफ्नो कुल जनशक्तिको करिब ३० प्रतिशत अर्थात् करिब ८०० पत्रकारमध्ये ३०० भन्दा बढीलाई निष्कासन गरेको छ ।

एमजोनमा मालिक जेफ बेजोसको स्वामित्वमा रहेको यस पत्रिकाले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यो कठोर कदम चालेको हो ।

न्यूयोर्क टाइम्सका अनुसार यस कटौतीले संस्थाको खेलकुद, स्थानीय समाचार र अन्तर्राष्ट्रिय कभरेजलाई नराम्ररी प्रभावित पारेको छ । खेलकुद विभाग पूर्ण रूपमा बन्द गरिएको छ । केही रिपोर्टरहरूलाई ‘फिचर्स’ विभागमा सारिनेछ । मेट्रो सेक्सन खुम्च्याइएको छ भने पुस्तक सम्बन्धी विशेष विभाग र दैनिक न्युज पडकास्ट बन्द गरिएको छ ।

अन्तर्राष्ट्रिय कभरेजमा मध्यपूर्व, भारत र अष्ट्रेलियाका सम्पादक तथा रिपोर्टरहरू निकालिएका छन् । सबै स्टाफ फोटोग्राफरहरूलाई हटाइएको छ ।

वाशिङ्गटन पोस्टका कार्यकारी सम्पादक म्याट मरेका अनुसार संस्थाले लामो समयदेखि ठूलो आर्थिक घाटा बेहोर्नु परेको र पाठकहरूको आवश्यकता पूरा गर्न नसकेकोले यो निर्णय लिइएको हो । मरेका अनुसार पछिल्लो तीन वर्षमा ‘जेनेरेटिभ एआई’ का कारण अनलाइन सर्च ट्राफिक झन्डै ५० प्रतिशतले घटेको छ । पत्रिका अब राष्ट्रिय समाचार, राजनीति, व्यवसाय र स्वास्थ्यमा बढी केन्द्रित बताइएको छ ।

सन् २०१३ मा जेफ बेजोसले यो पत्रिका किनेपछि सुरुका केही वर्ष यसको विस्तार भएको थियो । तर, पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा र घट्दो विज्ञापनका कारण पत्रिका संकटमा परेको हो । सन् २०२४ को चुनावअघि बेजोसले कुनै पनि राष्ट्रपति उम्मेदवारलाई समर्थन नगर्ने नीति लिएपछि लाखौँ ग्राहकले ‘सब्सक्रिप्शन’ रद्द गरेका थिए, जसले आर्थिक भार थप बढाएको थियो ।

यस कटौतीलाई पूर्व कार्यकारी सम्पादक मार्टी ब्यारोनले “विश्वकै एक महान समाचार संस्थाको इतिहासमा सबैभन्दा अँध्यारो दिन” भनेका छन् । युद्धग्रस्त क्षेत्र युक्रेनमा रिपोर्टिङ गरिरहेका संवाददाता र विन्टर ओलम्पिक कभर गर्न इटाली पुगेका रिपोर्टरहरू समेत यस कटौतीको मारमा परेको बताइएको छ ।

“हामी सबैका लागि सबै थोक बन्न सक्दैनौँ, तर यो परिवर्तनले हामीलाई अझ प्रतिस्पर्धी बनाउनेछ,” सम्पादक मरेले कर्मचारीहरूसँगको कुराकानीमा भनेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, बिहिबार  ११ : २५ बजे