२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

जेनजी आन्दोलनमा पत्नी गुमाएका भारतीयद्वारा १०० करोड क्षतिपूर्ती माग



नेपालमा गत भदौ महिनामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्नी पत्नी गुमाएका एक भारतीय नागरिकले दिल्ली उच्च अदालतमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।

भारतीय सञ्चारमाध्यम ‘अमर उजाला’ का अनुसार रणवीर सिंह गोलाले आफ्नी पत्नी राजेश गोलाको मृत्युको विषयलाई लिएर भारत सरकारको विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र काठमाडौंस्थित हायात रिजेन्सी होटलविरुद्ध १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गर्दै रिट दायर गरेका हुन्।

सन् २०२५ सेप्टेम्बर ७ मा पशुपतिनाथको दर्शनका लागि नेपाल आएको यो दम्पती सेप्टेम्बर ९ (भदौ २४) मा काठमाडौंको होटल हायातमा रहेका बेला प्रदर्शनकारीहरूको चपेटामा परेको थियो। आन्दोलनकारीले होटलमा आगो लगाउनुका साथै आक्रमण सुरु गरेपछि होटल प्रशासनले सुरक्षाको आश्वासन दिँदै उनीहरूलाई माथिल्लो तलामा पठाएको तर आपत्कालीन स्थितिमा कुनै उचित प्रबन्ध नमिलाएको आरोप रिटमा लगाइएको छ। सोही क्रममा ज्यान जोगाउन भाग्ने क्रममा चौथो तलाबाट खसेर उनकी श्रीमतीको मृत्यु भएको थियो।

पीडित गोलाले घटनाको समयमा आफूले नेपालस्थित भारतीय दूतावास र भारतको विदेश मन्त्रालयलाई पटक-पटक सम्पर्क गर्दा पनि कुनै सहयोग नपाएको गुनासो रिटमार्फत गरेका छन्। उनले होटल प्रशासनले समयमै चेकआउट गर्न नदिएका कारण यो दुःखद घटना भएको दाबी गरेका छन्।

यस विषयमा सोमबार न्यायाधीश पुरुषेन्द्र कुमार कौरवको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा अदालतले क्षेत्राधिकारको विषयमा प्रश्न उठाउँदै नेपालमा भएको घटना र त्यहाँको होटलले दिएको भनिएको आश्वासनका बारेमा दिल्ली उच्च अदालतले कसरी फैसला गर्न सक्छ भनी जिज्ञासा राखेको थियो। साथै, अदालतले रिटमा हायात होटललाई विपक्षी बनाइएकोमा आपत्ति जनाउँदै रिट संशोधन गर्न निवेदकलाई आदेश दिएको छ। यस मुद्दाको अर्को सुनुवाइ आगामी फेब्रुअरी २६ का लागि तोकिएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार  १० : १३ बजे