२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

रास्वपाले दुई तिहाइ सिट जित्ने आँकलन




प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ सिट जित्ने आँकलन गरिएको छ । प्रत्यक्षतर्फ १२३ सिट जितिसकेको रास्वपाले थप २ सिटमा अग्रता कायम गरेको छ । त्यसैगरी हालसम्म प्राप्त मतको आधारमा उसले समानुपातिक तर्फ पनि ६० सिट जित्ने संभावना रहेको छ । यसो भएमा रास्वपाको २८५ सिट हुने छ भने दुई तिहाइ बहुमत प्राप्त गर्नका लागि २८४ सिट आवश्यक पर्दछ ।

प्रत्यक्षतर्फ रास्वपाको स्पष्ट बहुमत

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२३ सिट जितिसकेको छ भने थप २ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । यसले संसदमा एकल सरकार गठनको बाटो खोलेको छ ।

हालसम्मको नतिजामा नेपाली कांग्रेसले १७ सिट जितेको छ। त्यस्तै नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी ले ९ र ७ सिट जितेका छन् ।

अन्य साना दलहरूमध्ये श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन पनि प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा

समानुपातिकतर्फको मतगणना करिब आधा सकिँदा पनि रास्वपा नै अग्रस्थानमा देखिएको छ । करिब ५२ लाख मतगणना सम्पन्न भएको छ भने निर्वाचनमा कुल १ करोड ९ लाख मत खसेको थियो ।

जारी मतगणनाअनुसार रास्वपाले ४९ दशमलव १३ प्रतिशत मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको छ । त्यसपछि नेपाली कांग्रेसले १६ दशमलव ६१ प्रतिशत, नेकपा एमालेले १४ दशमलव २९ प्रतिशत, नेपाली कम्युनिष्ट पार्टीले ६ दशमलव ६९ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ५५ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ दशमलव ६० प्रतिशत र जसपा नेपालले १ दशमलव १ प्रतिशत मत प्राप्त गरेका छन् ।

३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्ने दल

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउने दलले मात्र सिटमा भाग पाउने प्रावधान छ। हालसम्मको मत परिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपा मात्र उक्त ‘थ्रेसहोल्ड’ पार गर्ने अवस्थामा देखिएका छन्।

अहिलेसम्मको मत अनुपात कायम रहेमा समानुपातिकतर्फ रास्वपाले करिब ६० सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १७ सिट, नेकपाले ८ सिट र राप्रपाले ५ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

दुई तिहाइ बहुमतको सम्भावना

समानुपातिकतर्फ अनुमानित ६० सिट जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्ने देखिन्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ । हालसम्मको मत परिणाम यही अनुपातमा कायम रहे रास्वपाले संसदमा दुई तिहाइ बहुमत प्राप्त गर्ने सम्भावना देखिएको छ ।

मतगणना अझै केही निर्वाचन क्षेत्रमा जारी रहेकोले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ५१ बजे