२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामाको घोषणा, विश्वप्रकाशले रोके



नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्ताका क्रममा सभापति थापाले आफू पद त्याग गर्ने निर्णयमा पुगेको जानकारी गराए ।

भेटमा थापाले भने, “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अब म राजीनामा दिन्छु ।” सभापतिको भनाइ उद्धृत गर्दै उपसभापति शर्माले थापा राजीनामा दिने मुडमा रहेको पुष्टि गरेका छन् ।

तर, उपसभापति शर्माले भने सभापति थापालाई तत्काल राजीनामा नदिन र धैर्य गर्न सुझाव दिएका छन् । शर्माले निर्वाचनको नतिजालाई रास्वपाको जितभन्दा पनि कांग्रेसको पराजयका रूपमा व्याख्या गर्दै यसको दोष कुनै एक व्यक्ति वा भर्खरै चुनिएको कार्यसमितिलाई मात्र दिनु न्यायसंगत नहुने तर्क गरेका छन् ।

“नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता र ५० औं दिनमा चुनाव भएको थियो । यस्तो अवस्थामा पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ,” शर्माले भने, “सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।”

कांग्रेसभित्र निर्वाचनको नतिजालाई लिएर बहस तातिरहेका बेला सभापति थापाको राजीनामाको तयारीलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ११ : ४७ बजे