भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन वार्ता गरेका छन् ।
नेपालमा सम्पन्न हालैको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको शानदार सफलता र दुवै नेताहरूको व्यक्तिगत चुनावी विजयका लागि प्रधानमन्त्री मोदीले हार्दिक बधाई ज्ञापन गरेका हुन् । सौहार्दपूर्ण वातावरणमा भएको उक्त कुराकानीमा मोदीले आगामी नयाँ सरकारका लागि शुभकामनासमेत दिएका छन् ।
टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्रीले दुई देशको साझा समृद्धि, प्रगति र जनस्तरको हितका लागि नयाँ सरकारसँग मिलेर काम गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले भनेका छन्, “हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेमा म विश्वस्त छु।”
नेपालमा रास्वपाको उदय र युवा नेतृत्वको विजयलाई छिमेकी मुलुक भारतले निकै महत्वका साथ हेरेको यस संवादबाट प्रस्ट हुन्छ । दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउन नयाँ नेतृत्वसँगको यो संवादलाई एक सकारात्मक सुरुवातका रूपमा लिइएको छ ।









