काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजातहरू बुझिसकेपछि उनलाई खोजेका बखतमा उपस्थित हुने शर्तमा छाडिएको हो। “उहाँसँग बुझ्नुपर्ने सबै कागजात बुझ्यौं। त्यसपछि आवश्यक पर्दा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,” उनले बताए।
रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सुविधानगरस्थित निवासबाट पक्राउ गरेको थियो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले रिजाललाई कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सुझाव दिएको थियो।
उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रबाहेकका व्यक्तिमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही क्रममा शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिएको थियो।
यसअघि प्रमुख जिल्ला अधिकारी जिल्ला सुरक्षा समितिको अध्यक्ष हुने भएकाले पक्राउ नगरिने चर्चा भए पनि मंगलबार बिहान उनलाई एकाएक पक्राउ गरिएको थियो। तर, सोही दिन आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई रिहा गरिएको हो।
मन्त्रिपरिषद्को निर्णयका कारण रिहा गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट नभए पनि प्रहरीले यस विषयमा थप अध्ययन भइरहेको जनाएको छ।









