१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय



राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ। रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको उपस्थितिमा रहेकाले अर्याल निर्वाचित हुने सम्भावना उच्च देखिएको छ।

अर्याल अघिल्लो प्रतिनिधिसभामा पनि सांसद रहिसकेका छन्।

यसैबीच, सभामुख चयनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। चैत २२ गते हुने निर्वाचनका लागि बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको निर्देशनअनुसार महासचिव पदमप्रसाद पाण्डेयले तालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिका अनुसार चैत २० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ। सोही दिन २:३० बजेदेखि दर्ता भएका उम्मेदवारीहरूको सूची प्रकाशन गरिनेछ।

त्यसपछि चैत २२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तावक र समर्थकले उम्मेदवार प्रस्तुत गर्नेछन् भने सामूहिक छलफलपछि निर्णयार्थ प्रस्ताव पेश गरिने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ५० बजे