२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

मन्त्रिपरिषद् पुनर्गठन : सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुनलाई नवप्रवर्तन मन्त्रालय



सम्पत्तिको स्रोतबारे उठेका प्रश्नका कारण पदबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ दुई महिनापछि पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् भने स्वतन्त्र सांसद महावीर पुन नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीसहित मन्त्री बनेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार साँझ दुवैलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको छानबिन समितिले गुरुङको सम्पत्तिसम्बन्धी विषयमा ‘अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने अवस्था नदेखिएको’ निष्कर्षसहित प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गरेको थियो । त्यसपछि प्रधानमन्त्री शाहले उनलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा लगानी गरेको विवरण सार्वजनिक भएपछि गुरुङले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसबेला उनले आफूविरुद्ध उठेका प्रश्नको निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका थिए ।

गुरुङको पहिलो कार्यकाल निकै चर्चित र विवादास्पद रह्यो । गृहमन्त्री नियुक्त भएकै दिन उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनी प्रत्यक्ष रूपमा प्रहरी मुख्यालय पुगेर निगरानीसमेत गरेका थिए । गृह मन्त्रालयमा रहँदा उनले विभिन्न पक्राउ र अनुसन्धानका विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि आलोचनासमेत खेप्नुपरेको थियो ।

पुनः पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री गुरुङले चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने, जेन–जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सुदृढ बनाउने तथा रोकिएका अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने घोषणा गरेका छन् ।

स्वतन्त्र सांसद महावीर पुन नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीसहित मन्त्री बनेका छन् । सरकारको प्रशासनिक पुनर्संरचनाअन्तर्गत मन्त्रालयहरूको संख्या २२ बाट १७ मा झारिएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरिएको हो ।

म्याग्दीका सांसद पुन विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन् । दुर्गम गाउँमा वायरलेस इन्टरनेट विस्तार, ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच वृद्धि तथा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना उनका महत्वपूर्ण योगदानका रूपमा चिनिन्छन् । यही योगदानका लागि उनले सन् २००७ मा एसियाको प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए ।

शपथअघि मन्त्री बन्ने विषयमा आफू पूर्ण रूपमा अनभिज्ञ रहेको बताउँदै पुनले मन्त्रालयको अवस्था बुझेर प्राथमिकता निर्धारण गर्ने बताएका छन् । उनले विगतदेखि नै विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई नेपालको आर्थिक विकासको मुख्य इन्जिनका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो पुनर्गठनसँगै सरकारको सुरक्षा र नवप्रवर्तन क्षेत्रका दुई महत्वपूर्ण मन्त्रालयमा नयाँ राजनीतिक तथा प्रशासनिक बहस सुरु भएको छ । एकातिर विवादपछि पुनः जिम्मेवारीमा फर्किएका सुधन गुरुङको कार्यशैलीमाथि चासो बढेको छ भने अर्कोतर्फ विज्ञान र प्रविधिको क्षेत्रमा लामो अनुभव भएका महावीर पुनले मन्त्रालयमार्फत कस्तो परिणाम दिन्छन् भन्ने विषयमा अपेक्षा बढेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ०७ बजे