१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, साढे ८ करोडभन्दा बढी रकम हिनामिनाको आरोप



अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबीका अनुसार शेर्पालाई शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका तर्फबाट अख्तियारप्राप्त प्रतिनिधि रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा शेर्पालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार शेर्पा उक्त एकेडेमीका कार्यकारी प्रमुख रहँदा एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने अधिकार प्रयोग गर्दै विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।

जाहेरीमा शेर्पाले भक्तपुरको दधिकोटस्थित विद्यालयको २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीलाई बिक्री गरेको, विद्यालयका नाममा सवारीसाधन खरिद गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको तथा संस्थाको सम्पत्ति दुरुपयोग गरेको आरोपसमेत लगाइएको छ।

सीआईबीले शेर्पामाथिको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : २५ बजे