राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा असिम शाहबाहेक सबै पदमा सभापति रवि लामिछाने पक्षका नेताहरू निर्वाचित भएका छन्।
रास्वपाको विधानअनुसार उपसभापति दुई (एक महिला), महामन्त्री एक तथा सहमहामन्त्री दुई (एक महिला) गरी ६ पदका लागि निर्वाचन गरिएको हो। यसअघि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिएको हो।
खुलातर्फ उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। उनी लामिछाने निकट नेता हुन्। महिलातर्फ उपसभापतिमा सोविता गौतम विजयी भएकी छन्। उनले डा. तोषिमा कार्कीलाई पराजित गरिन्। कार्कीलाई पछिल्लो समय काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाह निकट मानिने नेताका रूपमा हेरिएको थियो।
महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। रास्वपा स्थापनाअघिदेखि नै लामिछानेसँग निकट रहेका आचार्य पार्टीका संस्थापक सदस्यसमेत हुन्। उनले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरेका हुन्।
सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। ढकाल लामिछाने पक्षका हुन् भने शाह बालेन शाह पक्षका मानिन्छन्। शाह हाल प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारसमेत हुन्। यही पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले पनि प्रतिस्पर्धा गरेका थिए।
महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित विजयी भएकी छन्। उनले रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पराजित गरिन्।
सभापति रवि लामिछानेले पदाधिकारी सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरेका थिए। तर सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
निर्वाचन परिणामले रास्वपाको आन्तरिक नेतृत्वमा लामिछाने पक्षको स्पष्ट वर्चस्व कायम रहेको देखिएको छ। असिम शाह मात्रै बालेन शाह पक्षका नेताका रूपमा पदाधिकारीमा निर्वाचित भएका छन्।









