१७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026

रसुवा र नुवाकोटका हाइड्रोपावर सुरुङमा तीव्र उद्धार प्रयास, ठोस प्रगति हुन सकेन



रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र सयौँ मानिस फसेको आशङ्कामा नेपाली सेना तथा अन्तर्राष्ट्रिय विज्ञसहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

बाढीले पुरेका र थुनिएका सुरुङहरूमा बुधबार दिनभर उद्धार प्रयास जारी राखिए तापनि उल्लेख्य सफलता भने हासिल हुन सकेको छैन। सेनाले साँझ एक विज्ञप्ति जारी गर्दै विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा भइरहेको कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ।

सेनाका अनुसार रसुवागढी हाइड्रोमा इन्जिनियरसहितको टोली २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ भने उद्धारलाई थप तीव्र बनाउन हेभी एक्साभेटर ल्याउने तयारी भइरहेको छ। लाङटाङ हाइड्रोमा भने विदेशी विज्ञसहित २५ जनाको टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजीमा खटिएको छ।

यसैगरी चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशी विज्ञको टोली १५० मिटर भित्र पुगे तापनि सुरुङ पूर्ण रूपमा बन्द अवस्थामा भेटिएकाले साउन्ड डिटेक्टरमार्फत भित्रको अवस्था निगरानी भइरहेको छ। अपर त्रिशूली–१ को टनेलको मुख ठूला ढुङ्गाले छेकेकाले सफा गर्ने प्रयास जारी छ। सोही आयोजनाको हाकु बेसी क्षेत्रमा संयुक्त टोली २६० मिटर भित्रसम्म पुगे पनि हालसम्म केही फेला पर्न सकेको छैन। त्यहाँको मेन टनेल, एक्सेस टनेल र २६ मिटर पानी भरिएको डिसेन्डर बेसिन क्षेत्र अगाडि बन्द अवस्थामा भेटिएको सेनाले जनाएको छ।

उता नुवाकोटतर्फ त्रिशूली थ्री ए मा सेनासहित ९३ जनाको टोली, चारवटा एक्साभेटर र बबकटको प्रयोग गरी लेदो हटाउने तथा चट्टान फुटाउन ब्लास्टिङ गर्ने काममा निरन्तर खटिएको छ। त्यस्तै त्रिशूली थ्री बी मा सेना र आयोजनाका प्रबन्ध निर्देशकसहित ६५ भन्दा बढीको टोलीले बबकटको सहयोगमा बाढीले पुरेको आयोजनाको कार्यालय र क्याम्प एरिया पहिचान गरी खोजी कार्य अघि बढाइरहेको छ। कठिन भौगोलिक बनावट र लेदोका कारण उद्धार जटिल बनेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १० : ४७ बजे