नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको भाउमा उल्लेख्य गिरावट आएको छ। गत कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार ह्वात्तै घटेर प्रतितोला ११ हजार सात सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा २ सय ३० रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मन्दीका कारण स्थानीय बजारमा मूल्य घटेको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ९ सय ९६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।









