१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

युएईमा थुनिएका पत्रकार पाण्डेलाई रिहा गर्न माग



संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।

नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् ।

दूतावासका बारेमा आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा लेखेकै आधारमा दूतावासले नै पत्रकार पाण्डेलाई थुनाउनु दूतावासको गैरजिम्मेवार भूमिका भएको प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासङ्घ युएई शाखाका पूर्वअध्यक्ष भूपराज बस्यालले बताए।

पत्रकार पाण्डेलाई विदेशी भूमिमा थुनाउन दूतावासका अधिकारीहरूले नै भूमिका खेलेको प्रमाणहरू आफूहरूलाई प्राप्त भएको दाबी गर्दै उनले त्यसमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग पनि आफूहरूको रहेको उल्लेख गरे ।

विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूताबाटै आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न हुनु विश्वभरका सबै प्रवासीका लागि डर लाग्दो विषय भएको सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका महासचिव जीवन भण्डारीले बताए ।

युएईको अदालतले पत्रकार पाण्डेलाई नेपाली झण्डै साढे छ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, पाण्डेको सम्पत्ति सबै जफत गर्ने, देश निकाला गर्नेलगायतका सजाय तोकेको छ । पाण्डेको तर्फबाट अहिले फैसला सच्याउन पुनरावलोकनको प्रक्रिया भइरहेको पाण्डेका भिनाजु पिताम्बर भुसालले जानकारी दिए ।

युएईस्थित दूतावास र नेपाल सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शनको आयोजना गरेको युथ कंग्रेसका केन्द्रीय सदस्य तथा प्रदर्शनका संयोजक किरण खनालले जानकारी दिए । नेपालमा रहँदा लेखिएको ‘स्ट्याटस’को आधारमा युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उहाँले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३९ बजे