११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

तीजको अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका खुला



हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोलिएको छ भने दर्शनार्थीहरुको घुइचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूलढोका यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन खोलेको थियो ।

लामो समयपछि पूर्वी ढोका खोल्दा कोटेश्वर–तीनकुने क्षेत्रबाट सिनामङ्गल–त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै जाने भक्तजनलाई सहज भएको हो । यसले गर्दा माथिल्लो मार्गबाट प्रवेश गर्ने भक्तजनको चापमा कमी आएको छ ।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने विसं २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । आक्कलझुक्कल यो ढोका खुल्ने गरे पनि भक्तजनकै लागि भने यसै वर्षमात्र खुला गरिएको हो । यो ढोका अब नियमितरूपमा खोल्ने तयारी पनि कोषले गरेको छ ।

यस वर्ष कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा बिहानैदेखि दर्शनार्थीलाई सहजरूपमा दर्शन गराउन सकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिएको छ । ठाउँ–ठाउँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल सम्बन्धित स्थानमै राख्ने व्यवस्था गर्दा पनि सहजरूपमा दर्शन गरेर फर्कन सकिएको भक्तपुरबाट दर्शनमा आउनुभएकी पार्वती राउतले बताइन् ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गराइएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न लगाइएको छ । धेरै ठाउँबाट व्यवस्थितरूपमा दर्शनार्थी प्रवेश गराइएकाले चक्रपथको सवारी मध्याह्नसम्म बन्द गरिएको छैन ।

पशुपति क्षेत्रमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई संयुक्तरूपमा परिचालन गरिएको छ । बाहिरी भागमा पुरुष सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ३५ बजे