४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

माओवादीले राष्ट्रपतिमा साझा उम्मेदवार खोज्ने



प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्र नयाँ राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने साझा उम्मेदवार हुनुपर्ने बारे छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समिति बैठकमा राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व खोज्नु पर्ने कुरा उठेको हो ।

बैठकपछि बोल्दै एकजना स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति पद साझा भएकाले यसबारे सबै दलबीच गम्भीर छलफल हुनुपर्ने बताएका हुन् ।

‘राष्ट्रपति साझा पद हो । पुस २६ गते प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिए जस्तै साझा रुपमा चुन्नुपर्छ’, उनले भने, ‘संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ। संसदको बनावटअनुसार यसलाई हामीले पाँच वर्ष लैजानुपर्छ ।’

उनले आफूहरु सहमतिकै व्यक्ति खोज्ने पक्षमा रहेको बताए । ‘हामी सकेसम्म सहमतिकै व्यक्ति खोजौँ’, उनले भने, ‘भारतमा पनि एपीजे अब्दुल कलामको नाममा सहमति भएको थियो । राष्ट्रपति सम्मान प्राप्त गरेको व्यक्तिलाई लाने भन्ने हाम्रो धारणा हो।’

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : ३१ बजे