२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

लस एन्जलसमा खतरा टरेन, ज्यान गुमाउनेको संख्या १६ पुग्यो, १३ अझै बेपत्ता



लस एन्जलस काउन्टीमा डढेलोको जोखिम अझै उच्च रहेको भन्दै मौसम विभागले अर्को चरणका हावाहरूको पूर्वानुमान गरेको छ । यसले डढेलो नियन्त्रण प्रयासमा थप चुनौती थप्ने देखिएको बताइएकाे छ ।

काउन्टीका अग्नि प्रमुखले यो स्थितिलाई “अत्यन्त गम्भीर” भनेका छन् । काउन्टीका तीन ठूला क्षेत्रहरू—प्यालिसेड्स, इटन, र हर्स्टमा हाल डढेलो जारी छ ।हालसम्म डढेलोका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ११ जना इटन डढेलोबाट, ५ प्यालिसेड्स डढेलोबाट मारिएका हुन भने १३ जना अझै हराइरहेकाे बताइएकाे छ ।

लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रेस सम्मेलनमा जानकारी दिए अनुसार ६०० प्रहरी अधिकारी र १०० नेशनल गार्ड सदस्य उद्धार कार्यमा खटाइएको छ । प्रभावित क्षेत्रका १,०५,००० बासिन्दा अझै पनि अनिवार्य रूपमा सुरक्षित ठाउँमा सारिएका छन् । उनले भने, “तपाईंको जीवन खतरामा छ, कृपया तत्काल सुरक्षित स्थानमा जानुहोस् ।”

प्रहरीले औषधि र घरपालुवा जनावर लिन अनुमति दिएका थिए, तर माग अत्यधिक भएकोले यो प्रक्रिया स्थगित गरिएको छ । उद्धार टोलीले ३६४ वटा स्थानमा खोजतलास गर्दा तीन जनाको शव फेला परेको जनाएको छ ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका नेताहरूलाई “अक्षम” भनेका छन्, तर उनी स्वयं डढेलो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका छैनन् । लस एन्जलस काउन्टी बोर्डकी अध्यक्ष क्याथ्रिन बार्गरले ट्रम्पलाई पत्र लेख्दै वास्तविकता हेर्न र प्रभावितहरूसँग भेट्न आग्रह गरेकी छन् ।राज्यको पुनर्निर्माण प्रयासलाई तीव्र बनाउन नयाँ कार्यकारी आदेश जारी गरिएको छ । प्रभावित क्षेत्रलाई “युद्ध क्षेत्र” जस्तै देखिएको भन्दै अधिकारीहरूले धैर्य राख्न आग्रह गरेका छन् ।यही बेलामा माैका पारेर इटन र प्यालिसेड्स क्षेत्रमा चाेरी बढेकाे बताइएकाे छ । त्यस क्षेत्रबाट २९ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : २९ बजे