११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो: चुवाखोला बेलिब्रिज उद्घाटन



हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दशक लामो प्रतीक्षा र सपना पूरा गर्दै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा निर्मित बेलिब्रिज उद्घाटन गरेसँगै हुम्ला नेपालको ७७औं जिल्लाको रूपमा सडक सञ्जालमा समाहित भएको हो ।

यो बेलिब्रिज कर्णाली करिडोरको हिस्सा हो, जसले भारतीय नाका जमुनाह (रूपैडिया) देखि चिनियाँ नाका हिल्सासम्मको ५०५ किलोमिटर सडक मार्ग जोडेको छ । यसले नेपालको दक्षिणी र उत्तरी छिमेकी मुलुकसँग व्यापारिक र सामरिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

नेपाली सेनाको १४ नम्बर वाहिनीले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो । गत वर्ष चैतमा कर्णाली करिडोरको २८६ किलोमिटर ट्र्याक खोलिएपछि सिमकोटसम्म सवारी साधन सञ्चालनमा आएको थियो । तर, चुवाखोलामा पुल नहुँदा सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । पहिले तीन खण्डमा सवारी सञ्चालन गर्नुपर्दा यात्रुले चर्को भाडा तिर्नुपरेको थियो । अब एउटै गाडीमा रूपैडियाबाट हिल्सासम्म यात्रा सम्भव छ ।

सिमकोट–हिल्सा सडक आयोजनाको तथ्याङ्कअनुसार, २०५४ मा भोकमरी र भाइरल इन्फ्लुएन्जाले ५० जनाको ज्यान गएपछि सडक निर्माणको योजना बनेको थियो । २०५७ मा जिल्ला विकास समितिले सडक खन्न सुरु गरेको थियो भने विश्व खाद्य कार्यक्रमको सहयोगमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमले निरन्तरता दिएको थियो । २०६९ मा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना भई सेनाले २०७१ देखि निर्माण जिम्मा लिएर १० वर्षमा ट्र्याक पूरा गरेको हो । सडक निर्माणमा करिब ७ अर्ब रुपैयाँ खर्च भएको छ ।

कर्णाली करिडोरले कालीकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लालाई जोड्छ । यो सडकले कर्णाली प्रदेशको पर्यटन, पूर्वाधार, रोजगारी, र आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा छ । मुख्यमन्त्री यामलाल कँडेलले सडकले चीन र भारतसँग व्यापारिक सम्बन्ध स्थापित गर्न सहयोग गर्छ । यसले आर्थिक कारोबार र रोजगारी वृद्धिमा योगदान पुर्‍याउने बताएका छन् ।

हाल कर्णाली करिडोरको दक्षिण खण्ड (खुलालु–सलीसल्ला, १२३ किमि) र उत्तरी खण्ड (सलीसल्ला–हिल्सा, १४६ किमि) मा सडक स्तरोन्नति भइरहेको छ । सडक चौडा बनाउने, ग्राभेल, र कालोपत्रे गर्ने कार्यका लागि ३ अर्ब रुपैयाँ विनियोजन भएको छ । करिडोरमा १० बेलिब्रिज निर्माण भएका छन्, जसमध्ये चुवाखोलाको बेलिब्रिजले सिमकोट (१२ किमि) र हिल्सा (९५ किमि) लाई जोड्छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०५ बजे