१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जेनजी प्रदर्शनमा उपत्यकाका २१८ प्रहरी भवन र २७९ सवारीसाधन क्षतिग्रस्त



जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा रहेका प्रहरी भवन र सवारीसाधनमा ठूलो क्षति पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार उपत्यकाभित्रका १२२ वटा प्रहरी भवन पूर्ण रूपमा क्षति भएका छन् भने ९६ वटा भवनमा आंशिक क्षति पुगेको छ। यसरी जम्मा २१८ भवन क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, चार पांग्रे सवारीसाधनमध्ये ११७ वटा गाडीमा पूर्ण क्षति र ४ वटा गाडीमा आंशिक क्षति भएको छ । दुई पांग्रे सवारीसाधन १५८ वटा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार प्रदर्शनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी सहायक हवल्दार अमृत गुरूङ र प्रहरी जवान उत्तम थापा रहेका छन् ।

उक्त घटनामा २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने भाटभटेनीलगायतका व्यक्तिको घरभित्र जलेका ३८ जना र १० जना कैदीबन्दीको ज्यान गएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १० : १५ बजे