१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जेनजी आन्दोलनका क्रममा दमन गर्नेहरू पक्राउ पर्न सक्ने : गृहमन्त्री अर्याल



गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमनमा संलग्न हुनेहरू पक्राउ पर्न सक्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अर्यालले राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेको जानकारी दिँदै आयोगको सल्लाह र सिफारिस बमोजिम सरकार अघि बढ्ने दृढता व्यक्त गरे ।

केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयबारे उठेको प्रश्नमा उनले अनुसन्धान निकायले आवश्यक ठानेअनुसार कदम चाल्ने स्पष्ट पारे । उनले भने, “अनुसन्धान गर्ने निकायले के रोक्नुपर्छ, त्यतिमात्र किन होला? बयान पनि लिनुपर्ला, पक्राउ पनि गर्नुपर्ला। जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ, आयोगले काम गर्छ।”

गृहमन्त्री अर्यालले सुशासनको मामलामा सरकार दृढ रहेको उल्लेख गर्दै निर्वाचन गराउने जिम्मेवारीअनुसार सरकार पछाडि नहट्ने बताए। “सुशासनको मामलामा सरकारले खुट्टा टेकेन भने यो सरकारको म्यान्डेटमाथि प्रश्न आउँछ। त्यसकारण प्रधानमन्त्रीज्यूले पनि सम्बोधनमा भन्नुभएको छ, यो सरकारले दह्रोसँग खुट्टा टेक्छ,” उनले भने।

सरकारले जेनजी आन्दोलनका क्रममा भएका हत्या र आगजनीबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिसकेको छ। आयोगले आजैदेखि काम थाल्दै विभिन्न निकायसँग भौतिक तथा मानवीय क्षतिको विवरण माग गर्ने निर्णय गरेको छ। यस क्रममा आयोगले सर्वोच्च अदालत, गृहमन्त्रालय, मुख्यमन्त्रीका कार्यालयलगायतबाट तथ्य–प्रमाण संकलन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : २९ बजे