२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको बहस, छुट्टै भेला गरी प्रस्तावको तयारी



भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको बहस तीव्र बनेको छ । आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि विदेश गइसकेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।

देउवाको अनुपस्थितिमा कांग्रेसभित्र अहिले प्रतिनिधि सभाको आगामी फागुन २१ गतेको निर्वाचनअघि नै महाधिवेशन गर्ने, वा चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुसभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनीहरूका अनुसार मंसिरमा सम्भव नभएकाले पुसभित्र सम्पन्न गर्न सकिनेछ । नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तालिका पनि केन्द्रीय समितिमा पेस हुनुपर्ने उनीहरूको माग छ ।

तर कार्यवाहक सभापति खड्का भने आफ्नो समूहको भेलाबाट फागुन २१ पछि मात्रै १५औँ महाधिवेशन गर्ने निर्णय गराइसकेका छन् । सोमबार काठमाडौँको आनन्दभूमि बैंक्वेटमा बसेको संस्थापन समूहको बैठकले सात बुँदे निर्णय गर्दै आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ ।

संस्थापन समूहले सोमबार फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा पार्टी एकताबद्ध भएर सहभागी हुने, पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण पूरा गर्ने र घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिनिधि सभाको निर्वाचनपछि वैशाख २५–२८ गते १५औँ महाधिवेशन गर्ने, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूलाई हालसम्म अवसर नपाएकाहरूमध्येबाट चयन गर्ने,
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने, क्रियाशील सदस्यता छानबिन समिति तत्काल गठन गर्ने, विधान संशोधन समिति बनाउनेलगायतका निर्णयहरु गरेका छन् । यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरिने जनाइएको छ ।

कार्यवाहक सभापति खड्काले भने सोमबार दिनभर पदाधिकारी र नेताहरूसँग सामूहिक तथा वान–टु–वान छलफल गरे पनि महाधिवेशनको तिथिमितिमा सहमति जुटाउने कोशिस गरेपनि सफद हुन सकेनन् ।

उनले दुई दिनदेखि केन्द्रीय समिति बैठक स्थगित गर्दै नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन् । तर अब बैठक नरोकी निरन्तरता दिने निर्णय भएको छ । महामन्त्री थापा पनि मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी हुने तयारीमा छन् ।

विवादले पार्टीभित्र गहिरो मतभेद र नेतृत्वप्रति अविश्वास जन्माएको छ । संस्थापनइतर एक नेताले चुनावअघि महाधिवेशन गर्न नचाहेर सभापतिले नै निर्णय ढिलो गराउने प्रयास त होइन भन्ने शंका पनि उब्जिएको बताएका छन् ।

महाधिवेशन कार्यतालिका नआएपछि विशेष महाधिवेशन माग गर्दै केही नेताहरू मंगलबार काठमाडौंमा भेला हुँदैछन् । ती नेताहरूका अनुसार “केन्द्रीय समितिले समयमै नियमित महाधिवेशन बोलाउन नसके विशेष महाधिवेशनको प्रक्रिया सुरू गर्नुपर्ने” धारणा राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  ९ : २४ बजे