जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गरी सामाजिक सञ्जालमा कडा आक्रोश व्यक्त गरेका छन्। गुरुङले हालै प्रकाशित आफ्नो फेसबुक पोस्टमा गृहमन्त्रीको कार्यशैलिको आलोचना गर्दै देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएको छ ।
उनले लेखेका छन् कि भ्रमपूर्ण नीतिहरू र ढिलासुस्तीका कारण देशभर “हत्यारालाई कारबाही गर”, “भ्रष्टाचारीलाई कारबाही गर” भन्दै उठेका आवाजहरूलाई सम्बोधन नगर्दा गृहमन्त्री पदमा बस्नु राष्ट्रप्रति अपमान रहेको छ । गुरुङले शहीदको रगत, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गर्दै गृहमन्त्रीले चुनावअघि कार्य गर्ने वाचा सम्झन समेत भनेका छन् ।
पोस्टमा उनले दुइ महिनाभर कुनै प्रभावकारी कदम नदेखिएको स्पष्ट पार्दै भ्रष्टाचार र हत्याका मामिलामा कारबाही नभएको गम्भीर आरोप पनि प्रत्यक्ष रूपमा राखेका छन् । साथै, आफूले देशहितका निम्ति लड्दा भ्रामक समाचार र चरित्रहत्या समेत सहनु परेको कुरा उनले उल्लेख गरेका छन् । गुरुङले अब अन्याय सहन नसकिने र आशा मरेको पनि बताए ।
गुरुङले आफ्नो भनाइलाई युवा र जनताको चेतनासँग जोड्दै भनेका छन् — “THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.” उनले चुनावको प्रक्रियालाई नाटक बन्न नदिन, र जनताका तथा जेनजीका मागहरू सम्बोधन नभए यसपटक चुनाव हुन नदिने चेतावनीसमेत दिएका छन् ।
सामाजिक सञ्जालको पोस्टमा सुदनले गृहमन्त्रीलाई स्पष्ट सन्देश दिएका छन्, यदि गृहमन्त्रीले आफ्नो पदमा बसिरहने र काम गर्न असफल हुने अभ्यास जारी राखे भने दुई दिनभित्रको प्रेस कन्फ्रेन्सले उनको भविष्य निर्धारण गर्नेछ ।
गुरुङले आफ्नो पोस्टमार्फत प्रधानमन्त्रीको प्यारो बनेर कुर्ची बचाउन खोज्नु गलत रहेको र गृहमन्त्रीले आफूलाई नियुक्त गरेको जिम्मेवारी पूरा गर्नुपर्ने जोड दिएका छन् । उनले प्रतिशोध र आक्रमणको चेतावनीभन्दा पर गएर कामले देखाउनुपर्ने विश्वास पनि व्यक्त गरेका छन् ।









