२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

निर्वाचनमा महिला प्रतिनिधित्व: रास्वपाको लहरले बदलिएको संसदको चित्र



नेपालको संसदीय राजनीतिमा संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूलाई सधैँ हम्मे-हम्मे पर्दै आएको इतिहास छ । विशेषगरी प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारले जित्ने सम्भावना न्यून मानिने सामाजिक बुझाइलाई यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरले पूर्णतः गलत सावित गरिदिएको छ ।

कुल १६५ प्रत्यक्ष सिटमध्ये यसपटक १४ जना महिला सांसद निर्वाचित हुनु ऐतिहासिक उपलब्धि मानिएको छ, जसमा रास्वपाका मात्रै १३ जना र नेपाली कांग्रेसबाट एक जना महिलाको उपस्थिति रहेको छ । अघिल्लो २०७९ को निर्वाचनमा ५.४५ प्रतिशत मात्र महिला प्रत्यक्षबाट निर्वाचित भएकोमा यसपटक यो संख्या बढेर ८.४८ प्रतिशत पुग्नुले नेपाली राजनीतिमा सकारात्मक संकेत देखाएको छ । रास्वपाले उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी हुनुले मतदाताले उम्मेदवारको लिङ्गभन्दा पनि एजेन्डा र परिवर्तनको पक्षमा मतदान गरेको स्पष्ट पार्छ ।

भौगोलिक रूपमा हेर्दा सातमध्ये पाँच प्रदेशका विभिन्न क्षेत्रबाट महिलाहरूले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । कोसी प्रदेशको झापा–२ बाट इन्दिरा राना मगरले सबैभन्दा बढी ६० हजार ११० मत प्राप्त गर्दै एमालेका हेभीवेट उम्मेदवार देवराज घिमिरेलाई भारी मतान्तरले पराजित गरिन् ।

सोही जिल्लाको क्षेत्र नं. १ बाट २९ वर्षीया निशा डाँगीले पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै संसदको यात्रा तय गरेकी छिन् । मोरङका दुई क्षेत्रबाट आशा झा र रुविना आचार्य निर्वाचित भएका छन् भने मधेस प्रदेशमा रास्वपाकै पुष्पाकुमारी चौधरी, निमिता भण्डारी र गौरी कुमारीले प्रभावशाली जित निकालेका छन् ।

बागमती प्रदेशमा पनि रास्वपाको उपस्थिति बलियो देखियो, जहाँ काठमाडौँ–१ बाट लामो संघर्षपछि रञ्जु दर्शना, ललितपुर–३ बाट डा. तोसिमा कार्की र चितवन–३ बाट सोविता गौतम निर्वाचित भए। धादिङ–१ बाट सामाजिक अभियन्ता आशिका तामाङले पनि ठूला दलका उम्मेदवारलाई पछि पार्दै विजयको झण्डा गाडिन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि रास्वपाका महिला उम्मेदवारहरूले आफ्नो पकड प्रमाणित गरेका छन् । कास्की–३ बाट बिना गुरुङ र कैलाली–१ बाट कोमल ज्ञवालीले संसदमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित १७ सांसदमध्ये बासना थापा एक मात्र महिला पात्र बनेकी छिन्, जसले एमालेको गढ मानिने दैलेख–१ मा पहिलो प्रयासमै जित निकाल्न सफल भइन् ।

यसरी सक्षम महिलाहरूलाई अवसर दिँदा उनीहरूले स्थापित नेताहरूलाई समेत चुनौती दिन सक्छन् भन्ने कुरा यो निर्वाचन परिणामले पुष्टि गरेको छ। घण्टी चिह्न र नयाँ नेतृत्वप्रतिको विश्वासले गर्दा यसपटक संसदमा महिलाहरूको प्रत्यक्ष उपस्थिति हिजोका दिनमा भन्दा थप ओझिलो र सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ३२ बजे