राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता शाहले आज निर्वाचन आयोगको कार्यालय पुगेर चुनावी अभियानमा भएको खर्चको पूर्ण विवरण पेस गरेका हुन् । आयोगलाई बुझाइएको प्रतिवेदनअनुसार उनले निर्वाचनका क्रममा कूल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी गराएका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा बालेन शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका थिए । निर्वाचन सम्पन्न भएको निश्चित समयभित्रै कानुनी प्रावधानअनुसार उहाँले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोगले तोकेको खर्चको सीमाभित्रै रहेर पारदर्शी रूपमा विवरण बुझाएको भन्दै उनको यस कदमलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ ।









