२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रा सुरु हुँदै, आजदेखि विश्वकप २०२६



विश्व फुटबलका समर्थकहरूको लामो प्रतीक्षा अन्त्य भएको छ । मेक्सिको र दक्षिण अफ्रिकाबीच आज हुने उद्घाटन खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुँदैछ ।

रेफ्रीले नेपाली समयअनुसार राति १२:४५ बजे पहिलो ह्विस्सल बजाएसँगै ४८ राष्ट्रको सहभागितामा आयोजना हुने विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ प्रारम्भ हुनेछ । ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछन् र अन्ततः नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ ।

यसपटकको विश्वकपले इतिहासमा नयाँ अध्याय थपेको छ। पहिलोपटक ४८ टोलीले प्रतिस्पर्धा गर्ने भएकाले यसलाई विश्वकपको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ । यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा थप १६ राष्ट्रले विश्व फुटबलको सर्वोच्च मञ्चमा खेल्ने अवसर पाएका छन् ।

प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । १६ शहरमा हुने खेलमध्ये ११ अमेरिका, तीन मेक्सिको र दुई क्यानडामा सञ्चालन हुनेछन्। जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा फाइनल खेल हुनेछ। उपाधि जित्ने टोलीले कुल आठ खेल खेल्नुपर्नेछ ।

अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । त्यतिबेला २४ टोली सहभागी थिए र कुल ५२ खेल भएका थिए। यसपालि टोली र खेल दुवै संख्या दोब्बर भएको छ ।

नेपालमा खेलहरू राति अबेरदेखि बिहानसम्म हुनेछन्। अधिकांश खेलहरू नेपाली समयअनुसार राति १२:४५, १:००, २:०० तथा बिहान ४:४५, ५:४५ र ७:४५ बजे सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल नेपालमा हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

यसपटकको उद्घाटन समारोह पनि विशेष रहनेछ । पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित नरही मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा एकसाथ आयोजना गरिनेछ । तीनै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचान विश्वसामु प्रस्तुत गर्नेछन् ।

मेक्सिको सिटीमा हुने मुख्य समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारले प्रस्तुति दिने कार्यक्रम छ । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ ।

घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छन् । क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन् । अल्फोन्सो डेभिजको फिटनेस केही चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने बलियो दाबेदार मानिएको छ ।

मेक्सिको प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा आत्मविश्वासका साथ मैदान उत्रँदैछ । विश्वकपअघि सर्बियामाथिको ५–१ को जितले टोलीको मनोबल उच्च बनाएको छ ।

अमेरिकाले पनि माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ ऊर्जा पाएको छ । हालैका मैत्रीपूर्ण खेलहरूमा देखिएको प्रदर्शनले अमेरिकी समर्थकहरू उत्साहित छन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ । ३९ वर्ष पुग्ने मेसी लगातार दोस्रो विश्वकप उपाधि दिलाउने लक्ष्यमा छन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न नसकेको अवस्थामा अर्जेन्टिनासामु इतिहास रच्ने अवसर रहेको छ ।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि पोर्चुगलको टोलीमा छन् । आफ्नो गौरवपूर्ण करिअरमा विश्वकप उपाधि जित्ने सपना पूरा गर्ने उनको अन्तिम अवसरका रूपमा यस प्रतियोगितालाई हेरिएको छ ।

फ्रान्सका किलियन एमबाप्पे, इंग्ल्यान्डका ह्यारी केन, स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा र नेयमारसहितका खेलाडी प्रतियोगिताका प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : ३५ बजे