राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेन ले जानकारी दिएका छन् ।
बैठकले महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय तथा प्रदेश सांसद र भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको छ ।
आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको पनि अध्यक्ष लिङदेनले बताएका छन् ।
बैठकले केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ ।
पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। त्यस्तै, सक्रिय सदस्यता वितरण अभियान पनि भदौ मसान्तसम्म सञ्चालन गरिनेछ । सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।
भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले तय गरेको छ । कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।
छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ ।
साथै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था गरिएको पार्टीले जनाएको छ । महाधिवेशनअघि संगठनात्मक संरचना मजबुत बनाउँदै आन्तरिक निर्वाचन प्रक्रिया व्यवस्थित गर्ने तयारीमा राप्रपा जुटेको छ ।









