काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा सहमहामन्त्री (खुला)मा निर्वाचित भएका असिम शाहबाहेक सबै पदमा सभापति रवि लामिछाने पक्षका उम्मेदवार विजयी भएका छन्।
पार्टी विधानअनुसार उपसभापति दुई (एक महिला), महामन्त्री एक तथा सहमहामन्त्री दुई (एक महिला) गरी ६ पदका लागि निर्वाचन गरिएको हो। यसअघि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिएको हो।
खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छन्। गौतमले डा. तोषिमा कार्कीलाई पराजित गरेकी हुन्। कार्कीलाई पछिल्लो समय काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाह निकट मानिने नेताका रूपमा हेरिएको थियो।
महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। रास्वपा स्थापनाअघिदेखि नै रवि लामिछानेसँग निकट रहेका आचार्य पार्टीका संस्थापक सदस्यसमेत हुन्। यसअघि उनी सहमहामन्त्रीको जिम्मेवारीमा थिए। महामन्त्री पदका लागि मनीष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए।
सहमहामन्त्री (खुला)मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। ढकाललाई रवि लामिछाने पक्षका नेताका रूपमा चिनिन्छ भने शाह काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार हुन्। सहमहामन्त्री (खुला)का लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले पनि उम्मेदवारी दिएका थिए।
महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भएकी छन्। उनले रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पराजित गरिन्।
निर्वाचनअघि सभापति रवि लामिछानेले पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए। तर सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो।
निर्वाचन परिणामले रास्वपाको नयाँ नेतृत्वमा रवि लामिछाने पक्षको स्पष्ट वर्चस्व कायम भएको देखिएको छ। सहमहामन्त्री (खुला)मा निर्वाचित असिम शाह मात्रै बालेन्द्र (बालेन) शाह निकट समूहबाट पदाधिकारीमा निर्वाचित भएका एकमात्र नेता बनेका छन् ।









