त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३३ वर्षीय सन्दीप सिंहलाई आइतबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । उनको स्थायी ठेगाना कैलालीको घोडाघोडी नगरपालिका–११ रहेको प्रहरीले जनाएको छ ।
सिंह कोटेश्वरस्थित हिमालयन कलेज र बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा फाइनान्स विषय अध्यापन गराउँदै आएका शिक्षक हुन् । उनीविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
घटना २०८३ साउन ८ गते भएको थियो । सो दिन सञ्चालन भएको त्रिवि व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो ।
त्यसै दिन प्रश्नपत्र बाहिरिएको भनिएको ह्वाट्सएप समूहका स्क्रिनसटहरू ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजमार्फत सार्वजनिक भएपछि घटनाबारे व्यापक चर्चा भएको थियो ।
सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रश्नपत्र सिंहले नै ह्वाट्सएप समूहमा पठाएको देखिएको छ । यद्यपि उनले प्रश्नपत्र कसरी प्राप्त गरे र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको छ ।
“ह्वाट्सएप समूहमा उहाँले पठाएको देखिएको छ । तर उहाँले प्रश्नपत्र कसरी प्राप्त गर्नुभयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं,” एसएसपी जबराले बताएका छन् ।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षा अझै बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । परीक्षा सम्बन्धी गोपनीयता भंग गर्ने वा प्रश्नपत्र चुहाउने कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि ब्युरोले दिएको छ ।









