काठमाडौँ । संयुक्त राष्ट्रसंघले भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर (करिब साढे ६ अर्ब रुपैयाँ) सहयोगको अपिल गरेको छ। राष्ट्रसंघले आफ्ना मानवीय सहायता साझेदार निकायहरूसँग मिलेर बाढीबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउन यो अन्तर्राष्ट्रिय आह्वान गरेको हो।
नेपालस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार यो सहयोग रकमले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको चार महिने (हिउँद सुरु हुनुअघिको) योजनालाई प्राथमिकताका साथ सम्बोधन गर्नेछ। उच्च हिमाली भेगका बस्तीहरूमा चिसो सुरु हुनुअघि हुनसक्ने कष्ट र सरुवा रोगको जोखिम रोक्नु यस योजनाको मुख्य उद्देश्य रहेको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती विस्थापित भएका छन्। भौतिक पूर्वाधार, यातायात, विद्युत् र खानेपानी प्रणालीमा व्यापक क्षति पुगेकाले विकट भेगका बासिन्दा आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्। यस सङ्कटको सामना गर्न राष्ट्रसंघले प्रत्यक्ष नगद सहयोग, अस्थायी आवास सामग्री, सौर्य उपकरण, खानेपानी प्रणाली मर्मत र घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले भोटेकोसी र त्रिशूलीको बाढीले नागरिकहरूबाट घर, परिवार र जीविकोपार्जनका आधार खोसेको बताउँदै भनिन्, “यो अपिलको मुख्य प्राथमिकता भनेको सरकारकै नेतृत्वमा हिउँद लाग्नुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु हो।” संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू हाल सरकारसँग नजिकको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिएका छन्।








