२९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपिल



नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्ष (इतरपक्ष) ले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन पार्टी कार्यकर्ताहरूलाई अपिल गरेको छ। सोमबार देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलन आयोजना गर्दै असोज ३ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनलाई ‘तथाकथित’ भन्दै त्यसमा भाग नलिन आग्रह गरेका हुन्।

इतर पक्षको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार नै पार्टीको आधिकारिक महाधिवेशन अघि बढ्ने बताए। वैधानिक नेतृत्वले तय गरे अनुसार असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु हुने र आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न हुने जानकारी गराउँदै उनले उक्त प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गरे।

थापा नेतृत्वको विशेष महाधिवेशनबाट गठित समितिले असोज ३ गतेदेखि नै वडा अधिवेशन सुरु गर्ने तयारी गरिरहेका बेला कोइरालाले गैरजिम्मेवार राजनीतिक प्रचारको भ्रममा नपर्न आह्वान गरेका छन्। दुवै पक्षले फरक-फरक कार्यतालिका सार्वजनिक गरेपछि नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूमा अन्योल थपिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १० : ४७ बजे