भाव
हालैको विनाशकारी बाढीपछि विस्थापित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसोबास गरिरहेका बालबालिका तथा नागरिकहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ। नुवाकोटको बिदुर नगरपालिकास्थित पीपलटारमा रहेको श्री चन्द्रज्योति माविको अस्थायी शिविरमा आश्रित ५ वर्षीया योबिसा श्रेष्ठ, उनकी २० महिनाकी बहिनी र ६ महिने शिशुसहित धेरैमा निरन्तर ज्वरो, रुघाखोकी र बान्ता हुने समस्या देखिएको छ। एउटै छानोमुनि सयभन्दा बढी मानिस भीडभाडमा बस्नुपरेको र शिविरमा सामान्य सिटामोलबाहेक प्रभावकारी उपचार नपाएको पीडितहरूको गुनासो छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङका ३३ वटा होल्डिङ सेन्टरमा २४ सय १८ विस्थापितहरू बसोबास गरिरहेका छन्। सहरी विकास तथा भवन निर्माण विभागको प्रारम्भिक तथ्यांक अनुसार यी तीन जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको छ। शिविरहरूमा रहेका १ हजार २ सय ३३ बालबालिकामध्ये १ सय २ जना अभिभावकविहीन छन् भने ४ सय ३९ जना अभिभावकबाट बिछोडिएर आफन्तको हेरचाहमा रहेका छन्।
भीडभाडयुक्त वातावरण, दूषित पानी र कमजोर सरसफाइका कारण संक्रमण फैलिने जोखिम उच्च रहेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुग्दा करिब ६४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। विशेष गरी बिदुर बजारका करिब ५ हजार घरधुरीलाई पानी आपूर्ति गर्ने फलाकु खोलाको मुख्य आयोजना र २५ देखि ३० हजार जनसंख्यालाई सेवा दिने मुख्य पाइपलाइन बाढीले बगाएको छ। बिदुर नगरपालिकाले ट्यांकरमार्फत खानेपानी वितरण गरिरहेको भए पनि प्रारम्भिक परीक्षणका क्रममा १५ मध्ये ५ वटा नमुनामा ‘ई कोली’ जीवाणु भेटिएको थियो। यद्यपि, क्लोरिनेसन पश्चात् पानीको गुणस्तर सुधार भएको दाबी गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले हालसम्म ठूलो महामारी नफैलिएको र स्थिति नियन्त्रणमै रहेको बताएका छन्। जनस्वास्थ्य कार्यालय नुवाकी प्रमुख डा. अञ्जु कार्की र रसुवाका जनस्वास्थ्य प्रमुख डा. नीरध्वज घर्तीमगरका अनुसार केही विस्थापितमा सामान्य रुघाखोकी, भाइरल ज्वरो र पखालाको समस्या मात्र देखिएको छ। जोखिम न्यूनीकरणका लागि प्रत्येक होल्डिङ सेन्टरमा एक-एक जना स्वास्थ्यकर्मी खटाइएको, बिरामीलाई आइसोलेसनमा राखिएको र झुल तथा सरसफाइका सामग्री वितरण गरिएको छ।
महामारीको जोखिमबाहेक बाटोघाटो र पुल बगेका कारण दीर्घरोगीहरू थप मर्कामा परेका छन्। त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा र बिदुर नगरपालिकाका स्वास्थ्य संयोजक रामराजा भण्डारीका अनुसार सञ्जाल विच्छेद भएका कारण मानिसहरू नजिकैको अस्पतालसम्म पुग्न सकेका छैनन् भने धेरैजसो दीर्घरोगीको औषधि र प्रेस्किप्सन बाढीले बगाएकाले नियमित उपचार पाउन कठिनाइ भइरहेको छ।









