१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

ककपिटमै एक पाइलटले अर्कोलाई चक्कु हानेपछि



दुबईबाट इजरायलको तेल अविवतर्फ उडिरहेको फ्लाइदुबईको विमानमा एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेपछि विमानलाई साउदी अरबमा आपत्कालीन अवतरण गराइएको छ ।

उडानका क्रममा विमान दुई मिनेटभन्दा कम समयमा १७ हजार फिट तल खसेको थियो। घटनालगत्तै विमानलाई साउदी अरबको तबुकतर्फ मोडिएको थियो भने पछि यात्रुहरूलाई अर्को विमानमार्फत इजरायलको बेन गुरियन विमानस्थल पुर्‍याइएको छ। साउदी अधिकारीहरूले आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्।

विमानभित्र आक्रमण सुरु भएपछि यात्रुहरूबीच रुवाबासी र भागदौड मच्चिएको थियो। त्यसै क्रममा यानिभ नाम गरेका एक इजरायली यात्रुसहित अन्य ३ देखि ५ जना यात्रुहरूले ककपिटको ढोका खोलेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। घाइते पाइलटले ढोका खोलिदिएपछि यानिभले आक्रमणकारीलाई घाँटीमा अङ्कमाल (चोकहोल्ड) गरी नियन्त्रणमा लिएका थिए र उडान नियन्त्रण प्रणाली (कन्ट्रोल) तानेर विमानलाई सन्तुलनमा ल्याउन मद्दत गरेका थिए। त्यसपछि पछाडि बसेका अन्य दुई पाइलटहरूले विमानको ककपिट सम्हालेर सुरक्षित अवतरण गराएका थिए।

इजरायल आइपुगेका यात्रुहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रगतले भिजेको टिसर्ट लगाएका यात्रु यानिभसँग भेट गर्दै उनको साहसको प्रशंसा गरे । यस्तै, इजरायली राष्ट्रपति इसाक हर्जोगले पनि घटनामा बहादुरी देखाउने यात्रुहरूलाई धन्यवाद दिँदै युएईसँग मिलेर आतङ्कवादविरुद्ध लड्ने प्रतिबद्धता जनाए । विमानस्थलमा पुगेका स्वास्थ्यकर्मीहरूका अनुसार अधिकांश यात्रुहरू सकुशल रहेका छन् भने हातमा चोट लागेका एक जना यात्रुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : १६ बजे