२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र राणासँग जोडिएका विवादित पात्र इनम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान



काठमाडौँ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्म कनेक्सन देखिएका विवादित पात्र इनम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका सापकोटाविरुद्ध बुधबारदेखि सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको परिसर स्रोतले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले बुधबार दिएको एक दिनको म्याद सकिएपछि पुनः म्याद थपका लागि आज बिहीबार सापकोटालाई अदालत लगिएको छ। अमेरिकाको पीआर (स्थायी आवासीय अनुमति) रहेका सापकोटा विभिन्न शक्ति केन्द्रहरूबीच बसेर ‘सेटिङ’ मिलाउने काममा सक्रिय रहेको खुलेको छ।

अदालतमा मुद्दाको सेटिङ गर्न खोजेको सूचनाका आधारमा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई केही समयअघि मध्यराति घरबाटै नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिई १२ घण्टा केरकार गरेर छाड्ने क्रममा उनको मोबाइल कब्जामा लिएर प्राविधिक जाँच गरेको थियो।

उक्त मोबाइल अनुसन्धानका क्रममा बिचौलियाको रूपमा इनम सापकोटा सक्रिय रहेको नयाँ तथ्य फेला परेको हो। त्यसलगत्तै दिल्ली जान लागेका सापकोटालाई प्रहरीको विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। ब्युरोले एक दिन नियन्त्रणमा राखेर अनुसन्धान गरेपछि परिसर काठमाडौँको जिम्मा लगाएको थियो।

इनमको पक्राउ र उनको मोबाइल जाँचका क्रममा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको गम्भीर कनेक्सन सार्वजनिक भएको छ। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई कसैलाई जानकारी नगराई मध्यराति भेट्न गएको र गम्भीर सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरी छानबिन सुरु गरिएको छ।

विशेष ब्युरो स्रोतका अनुसार सापकोटा र एआईजी दाहालबीच प्रधानमन्त्री बालेन शाहका गतिविधिको सूचनासमेत आदानप्रदान भएको पाइएको छ। त्यसका साथै, दुवैबीच रकम नै उल्लेख गरेर भएका आर्थिक कारोबारका विवरणहरू फेला परेकाले यसलाई प्रहरीले गम्भीर रूपमा लिई अनुसन्धान अघि बढाएको छ।

अदालतमा विचाराधीन मुद्दाहरूमा अस्वाभाविक भेटघाट र चलखेल गरेको सूचनाका आधारमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सरकारको सूक्ष्म निगरानीमा परेका थिए। सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र तथा बैंकिङ कसुरमा पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालका मुद्दामा समेत उनले चलखेल गर्न खोजेको प्रहरी दाबी छ।

सोही अनुसन्धानको कडी जोडिँदै जाँदा अहिले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रमाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सोझिएको छ। बुधबार मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चोलेन्द्रसहित उनका नातेदार र निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ११ : ०९ बजे