२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत, तीन मुख्य जिम्मेवारी तोकियो



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता मनोनीत गर्दै तीन प्रमुख जिम्मेवारी सुम्पेको छ। एमाले केन्द्रीय कार्यालयले मातहतका सम्पूर्ण पार्टी निकायहरूमा पठाएको अन्तरपार्टी निर्देशन (अपानी)-३ मा विधानको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी भण्डारीलाई वरिष्ठ नेता चयन गरिएको औपचारिक जानकारी गराइएको छ।

राष्ट्रपतिको कार्यकाल पूरा गरी पुनः पार्टी सदस्यता नवीकरण गरेर राजनीतिमा सक्रिय रहनुभएकी भण्डारीलाई उपयुक्त जिम्मेवारी दिन केन्द्रीय कमिटीले विशेष संवैधानिक प्रावधानको सहारा लिएको हो। अपानी अनुसार एमाले विधानको धारा १०५ को ‘बाधा अड्काउ फुकाउने अधिकार’ र धारा १३ (क) को ‘दुई महाधिवेशनबीचको अवधिमा सर्वोच्च संस्थाको हैसियतले निर्णय गर्न पाउने अधिकार’ प्रयोग गर्दै विधानको धारा १२ (ख) र धारा १८ बमोजिम उहाँलाई वरिष्ठ नेता मनोनीत गरिएको छ। यसै निर्णयसँगै एमालेले आफ्नो पदाधिकारी संरचनामा संशोधन गर्दै अब राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ नेता, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ८ सचिवसहित ३०२ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने व्यवस्था स्पष्ट पारेको छ।

अन्तरपार्टी निर्देशनमा वरिष्ठ नेताका लागि तीन वटा स्पष्ट अधिकार तथा कर्तव्य तोकिएका छन्:

१. दोस्रो वरीयता र सल्लाह-सहयोग: पार्टी अध्यक्षपछिको दोस्रो वरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयका बैठकहरूमा सहभागी हुने, अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही एवं समयोचित निर्णय लिन योगदान पुर्याउने।

२. नीति तथा प्रतिष्ठाको रक्षा: वरिष्ठ नेताको हैसियतमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको निरन्तर पक्षपोषण गर्ने।

३. निर्दिष्ट कार्य सम्पादन: केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयले सुम्पिएका अन्य विशेष जिम्मेवारी तथा कार्यहरू सम्पादन गर्ने।

केन्द्रीय कमिटीले गरेको यो निर्णयलाई आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिनेसमेत अपानीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ०९ बजे