एभरेस्ट टाइम्स/काठमाडौं
डेन्डी चावा शेर्पा पर्यटन व्यवसायमा संलग्न थिए । दैनिक १२० डलर आम्दानी गर्थे ट्रेकिङमा । घुम्ने क्रममा विभिन्न स्थानमा अपांगता भएका बालबालिका देखेपछि उनको मन पग्लिन थाल्यो । यसै सिलिसिलामा उनले अपांग बालबालिकालाई शिक्षा, स्याहार र उपचारका लागि काठमाडौंको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा ल्याउन थाले ।
धेरै स्थानमा अपांगहरु हेपिएको पाएपछि उनले आफै यही क्षेत्रमा काम गर्न मन लागेछ । र, आफैले सुरु गरे अपांगता सेवा केन्द्र । ‘म ट्रेकिङमा राम्रै कमाउँथे, तर बाटोबाटोमा अपांगता भएकाहरु भेटिन थालेपछि मैले यिनीहरुकै सेवामा खट्ने निर्णय गरें,’ शेर्पाले भने ।
त्यसपछि उनले आफ्नै अध्यक्षतामा बाल अपांग टेवा संस्था स्थापना गरे । सन् २००६ सालमा स्थापना भएको काठमाडौंको कपनमा रहेको यस संस्थामा हाल २६ जना अपांगता भएका बालबालिका र युवाहरु रहेका छन् । त्यसैगरी १९ जना बालबालिकालाई शैक्षिक सहयोग गरिरहेको छ । उनीहरु विभिन्न विद्यालयमा पढ्छन् । ‘२६ जना यहाँ खाने, बस्ने र पढ्ने गर्छन्, १९ जना काठमाडौंका विभिन्न ठाउँमा छन् उहाँहरुलाई शैक्षिक सहयोग गर्दै आएको छु,’ शेर्पाले भने ।
हरेकलाई प्लस टुसम्म पढाइदिने र आर्थिक अवस्था निकै कमजोर भएकाहरुलाई स्नातक पढ्नसमेत सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष शेर्पाले बताए ।
टेवा संस्थामा भएकाहरुलाई आफन्तहरु, सामाजिक सञ्जालमा चिनजानमा रहेकाहरुले सहयोग गर्दै आएको उनले सुनाए । सन् २००९ बाट एक कोरियाली संस्थाले शिक्षासम्बन्धी सम्पूर्ण खर्च ब्योहर्न थालेको शेर्पाले बताए ।
सोलुको सोलु दुधकुण्ड नगरपालिका १० का डेन्डीलाई कसरी चल्यो त अपांग स्याहार्ने जाँगर ? उनी भन्छन्, ‘म पनि आफु अपांगता भएको मान्छे, कसरी भने म शारीरिक अपांगता भएको त हैन, तर म चाहि शैक्षिक रुपमा अपांग भएको व्यक्ति हो, त्यसैले मैले शैक्षिक र शारीरिक रुपमा अपांग भएको व्यक्तिलाई दुबै सबल बनाउँदै अपांगता न्युनीकरण अभियानमा लागेको छु ।’