१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

अश्विनी नक्षत्रका पुरुष कस्ता? महिला कस्ता? कति वर्षमा के हुन्छ, के व्यवसाय फाप्छ?


२९ मंसिर २०७४, शुक्रबार  

0
Shares

प. उद्ववराज शास्त्री
(साहित्य, भागवत, ज्योतिषाचार्य)

आदरणीय पाठकवृन्द पछिल्ला अंकहरुमा हामीले मेषदेखि मीत राशि सम्म जन्म भएका मासिनहरुको रुप गुण एवं लाभ हानी इत्यादिनको विषयमा चर्चा ग-यौ । अब हामी कुन कुन नक्षत्रमा जन्मेका मानिसहरुको स्वभाव लक्षण शुभ अशुभ एवं लाभ हानी के कस्तो हुन्छ । त्यस सम्बन्धमा चर्चा गर्नेछौ ।

पूर्वी दर्शनमा २७ नक्षत्र अश्विनी भरणी कृतिका रोहिणी इत्यादि नामका हुन्छन् । कुनै आचार्यको मतमा अभिजित पनि छुट्टै नक्षत्र हुनाले २८ नक्षत्र पनि हुन जान्छ । मुख्यतः अभिजितलाई नलिइने हुनाले यहाँ क्रममा २७ नक्षत्रको वर्णन गरिन्छ ।

अश्विनी नक्षत्र

चु चे चो ला । यी अक्षरबाट नाम प्रारम्भ हुने मानिसहरुको नक्षत्र अश्विनी हो । यस नक्षत्रामा जन्म हुने मानिसहरु सदैव परोपकार एवं सेवा गर्ने भाव भएका, नम्र सत्युक्त, सम्पूर्ण प्रकारको सम्पत्ति प्राप्त गरको, पत्नी वा पति, सन्तान र आभुषण इत्यादिद्वारा सन्तोष प्राप्त भएका हुन्छन्–यथा–
सदैव सेवाभ्यदितो विनीतः सत्यान्वितः प्राप्तसमस्तसंपत ।
योषाविभुषात्मज भुरितोषः स्यादाश्विनी जन्मनि मानवस्य ।।

यो नक्षत्रको ० अंशदेखि १३ अंश २० कलासम्म नक्षत्र स्वामी अश्विनी कुमार हो भने मेष राशिको पहिलो नक्षत्र हुनाले राशि स्वामी मंगल हुनेछ । यस नक्षत्रको क्षत्रीय वर्ण, अश्व योनि, महिष(भैसी), वैश्योनि, देव गण, आद्य नागे, अश्ववाहन, चरसंज्ञक, पूर्व दिकद्वारी, अग्नि तत्व र रात्रिवलि राशि हो । वास्तवमा अश्विनी नक्षत्रले नै समुचि मेष राशिको प्रतिनिधित्व गर्दछ ।

अश्विनी नक्षत्रद्वारा प्रभावाधिन व्यक्ति राम्रो पढे लेखेको तथा कैयौं विषयको ज्ञाता हुन्छ । तर कुनै एक विषयको विशेषज्ञ भने नगण्य मात्रमा हुन्छ अर्थात बहुत कम मात्रमा समाजमा देखिएको छ । गुप्त विद्यामा यिनीहरुको गहिरो रुचि रहेको हुन्छ । यिनीहरु अत्यन्त सुन्दर एवं भाव्यका धनी हुन्छन् । प्रत्येक कार्यमा निपुणता प्राप्तिका लागि भरमौजदुर प्रयत्न गर्दछन् । समाजमा प्रतिष्ठित महानुभावसँग सम्बन्ध बनाउने चुक्दैनन् । सुन्दर अलंकार एवं वस्त्रद्वारा सजिएका यिनीहरु तीव्र वुद्धिमान एवं शान्त स्वभावको प्रदर्शन गर्दछन् । अकारण नै अधिक खर्च गर्दछन् । यिनीहर आफ्नो निश्चयप्रति दृढ संकल्पित रहन्छन् । ती मानहरुसँग पुरै मोहित हुन्छन् जो आफूसँग प्रेम गर्दछन् । मित्रताको निर्वाह राम्ररी जीवन पर्यन्त निभाउने प्रयत्न गर्दछन् । ठुलाठुला मानिसहरु समेत यिनीहरु सल्लाहकार हुन्छन् । प्रत्येक कार्य सोचसमझका साथ गर्नु यिनीहरुको विशेष गुण हो ।

अश्विनी नक्षत्रका महानुभावहरुको स्वास्थ्य राम्रो हुन्छ तर ग्रहस्थितिको कारण गम्भीर रुपले अस्वस्थताको समेत सामना गर्नुपर्दछ । विशेषतः सिरछेद, ह्दयविकार, टाउकोमा चोटपटक, मानसिक रोग, मलेरिया, अनिद्र वा नाडी विकारको सम्भावना अधिक हुन्छ ।

यस राशिका महिलाहरु पढेलेखेका एवं वद्धिमान हुनुका साथै घरेलु कार्यमा पूर्ण रुचि राख्दछन् । यिनीहरुको आँखा अत्यत्त सुन्दर एवं आकर्षक हुन्छ । मिठो बोलीका कारण यिनीहरु सजिलै पुरुषहरुको मन आकर्षित गर्न सक्छन् । तर मानसम्मानको कारण यसो गर्न सक्दैनन । यिनीहरुको ह्दय अत्यन्त सफा हुन्छ । पतिका साथमा हुदाँ यिनीहरु अत्यन्त कामुक हुन्छन् । यिनीहरुको गृहस्थ जीवन सुखमय हुन्छ । यिनीहरु मध्यम कदका हुन्छन् । यदि यी स्त्रीहरु नोकरी गर्दछन् भने अवश्य उच्च पदमा पुग्छन् । यिनीहरु महिनावारीको समयमा र प्रसवकालमा भारी कष्टको अनुभव गर्दछन् ।

कुन कुन व्यवसाय फाप्ने ?

कल कारखाना, हतियारको काम, वकिल न्यायालयको काम, चलचित्र सम्बन्धी, खेलौना, सामानको विक्रेता, फलाम, धातु तथा कृषि, पशु व्यापार आदि ।

नोकरी कस्तो शुभ ?

सेना, पुलिस, डाक्टर, वैद्य अथवा अस्पतालको कर्मचारी इत्यादी ।

कतिकति वर्षमा कस्तो होला ?

जन्मदेखि ४ः वर्षसम्म केतु र भ्रामरी हुनाले रोग, व्याधि, घाउखटिरा र चोटपटकको भय ।
५ देखि ९ः राम्रो निरोगी हृष्टपुष्ट, आज्ञाकारी ।
१०–१५ः (उल्का) रोग, व्याधि सामान्य, मित्रवियोग, वृद्धिले काम नगर्ने, अटेरी, विदेश यात्रा ।
१९–२२ः विद्यामा सिद्धि, धन मानसम्मान प्राप्ति, विवाह, आँटेको पुग्ने शुभबेला ।
२३–२८ः दुःख, झगडा, हानी, धन नोक्सान, स्त्रीकष्ट ।
३१–३२ः मांगलिक कार्य, उत्साह ।
३४–३६ः गरगहना, धातु, मोटरगाडी प्राप्त, राजसम्मान, भाग्योदय ।
३७–४०ः भ्रामरी राहुको योग हुनाले अनिष्ट, चिन्ता, रोग, भय, स्त्रीमा कष्ट, धननाश ।
४१–४५ः धनधान्य वृद्धि, उच्च प्रतिष्ठित महानुभाव मिलन, मित्र समागम ।
४६–५१ः कार्यमा बाधा, उथलपुथल, आफन्तसँग वैरभाव, सानो सानो कुरामा विवाद ।
५२–५८ः भाग्योदय, सुख सन्तोष, कार्यसिद्धी ।
५९–६६ः खडगो, कष्ट ।
३३ वर्षमा पनि खड्को । ६९–७० मा पनि खड्गो ।

के गर्नु उत्तम ?

यो नक्षत्र मानिसहरुलाई शीरको रोग, चोटपटक, खत, खटिरा, रक्तको कमी, दिमागको गढबढी, जरो, पक्षघात जस्ता विरामी आउने हुने जीवनभर मंगल चौथीमा उपवास राखी गणेशजीको उपासना शुभ ।
विशेष ध्यान दिनुपर्नेः
यस नक्षत्रमा जन्मने मानिसहरुको ५० प्रतिशत विवाह असफल भएको अर्थता २–३ विवाह भएको देखिएको छ । पत्नी वा पतिबाट असन्तोष, जन्मस्थानबाट सर्नुपर्ने, दाजुभाइबाट मद्दत नमिल्ने, जीवनमा झमेलाहरु आइपर्ने हुनाले विवाह गर्दा गणगुण मिलाएर मात्र गर्नु बुद्धिमानी ठहर्छ । ठुलाठुला कार्यगर्दा शुभयोग शुभसाइत पारेर आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

अस्तुः

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार  १ : २३ बजे