काठमाडौं । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।
उक्त विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताए। उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिए ।
बैठकमा काँग्रेसका सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,
काँग्रेस नेताहरु विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरु सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, माओवादी नेताहरु श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत सहभागी थिए