६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

आरोहण सुरक्षा प्राथमिकतामा


२५ जेष्ठ २०७५, शुक्रबार  

0
Shares

सम्पादकीय

हिमाल आरोहणका लागि नेपाल आकर्षण गन्तव्य हो । विश्वको शिर सर्वोच्च शिखर सगरमाथा रहेकोले पनि पर्वतारोहणका पारखी नेपाल आउने गर्छन् । वसन्त ऋतुमा धेरैले अरु हिमालसहित सगरमाथा आरोहण गर्छन् । यसपटकमात्र सगरमाथासहित २९ हिमाल आरोहणका लागि ८,४१ जनाले अनुमति लिए ।

सगरमाथा आरोहण जोखिमयुक्त र साहसी खेल हो । त्यसैले सगरमाथा आरोहणका लागि अहिलेसम्म आरोहणमा लाने कम्पनीहरुमै सुरक्षाको निर्भर हुँदै आएको छ । सगरमाथामा केही दुर्घटना भाइहालेमा तत्काल उद्दारका लागि ती कम्पनीहरु नै खट्ने गरेका छन् ।
जति सुरक्षा बढाउन सक्यो त्यति आरोही आकर्षित हुन्छन् । त्यसैले पनि व्यवसायिक कम्पनीहरु सुरक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि होला विगतमा भन्दा यसपटक मानवीय क्षति कमी भयो । कमी हुँदै आएको छ पनि ।

यसै विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बजेटमार्फत सम्बोधन गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को पर्यटन शीर्षकको ११७ मा ‘हिमाल आरोही र पदयात्री पर्यटकहरुको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइनेछ,’ भनी उल्लेख गरिएको छ ।
अघिल्ला वर्षहरुमा हिमाल आरोहीको सुरक्षालाई सरकारले खासै ध्यान दिन सकेको थिएन । यसपटक सगरमाथा आरोहणबाट रोयल्टी पनि राम्रो उठेको छ । पर्यटन विभागका अनुसार यसवर्ष ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।

रोयल्टी संकलनमा ध्यान दिने तर हिमाल आरोहणका लागि पूर्वाधारमा वेवास्ता गर्दै आउँदा कतिपय आरोहीले ज्यान गुमाउनु परेको पनि छ । अर्को विषय पर्यटन विभागको पर्वतारोहण शाखामा हिमाल बुझेकाहरुको अभाव देखिन्छ । यसतर्फ पनि सरकारले ध्यान दिनु जरुरी छ ।

सगरमाथा एक साहासिक पर्यटन र आरोहणको हबमात्र नभएर नेपाल चिनाउने स्तम्भ हो । यहाँ आरोहणका लागि आउने हरेकलाई सुरक्षाको अनुभुति दिलाउन सरकारले कुनै कसर बाँकी राख्नुहुदैन । ‘पहिले देश अनि बिदेश’ भनी सरकारले पर्यटन वर्ष २०२० मनाउने उद्घोषसमेत गरेको अवस्थामा सगरमाथामा नेपालीलाई कसरी पुर्‍याउने भन्ने खालका कार्यक्रमहरुसमेत ल्याउन सकेमा अझ राम्रो हुने देखिन्छ । प्रत्येक नेपाली सगरमाथाको बेसक्याम्पसम्म पुग्न सकेमा गर्व गर्ने ठाउँ प्रशस्त रहनेछ । त्यसैले सरकारले हिमाल आरोहीलाई सुरक्षामा विशेष ध्यान दिँदै नेपालीलाई पनि सगरमाथासम्म यात्राका लागि प्रोत्साहन गरोस ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार  ७ : ३६ बजे