२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

राष्ट्रको पहिचान जनजातिले जोगाएका हुन् : रामचन्द्र पौडेल


२४ श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रको पहिचान आदिवासी जनजातिले जोगाएको बताएका छन्। २४ विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले उक्त भनाई राखेका हुन्।

कार्यक्रममा पौक्षलेले भने, ‘राष्ट्रको पहिचानलाई पनि हामीले उचो राख्न जरुरी छ। राष्ट्रको पहिचान आदिवासी जनजातिले जोगाएका छन्। उनीहरुले नै राष्ट्रको पहिचान उचो बनाएका छन्। बहुजातिय बहुसांस्कृतिक तथा बहुधार्मीक देशमा राष्ट्रको पहिचान उचो बनाउनका लागि सवै जात सवै धर्म र सवै जातिको उतिकै भूमिका हुन्छ।’

नेपाली कांग्रेसले संघीयताका बारेमा पहिचान भेटिने आपसी द्वन्द्व मेटिने संघीयता भन्ने आफ्नो सिद्धान्त नै बनाएको उल्लेख गर्दै उनले नेपाल बहुजातीय बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले कांग्रेसले सबैको पहिचान भेटिने संघीयताका लागि पहिचान भेटिने आपसी द्वन्द्व मेटिने संघीयता भन्ने सिद्धान्त तय गरेको बताए।

पौडेलले नेपाली कांग्रेसले आदिवासी जनजातिको हक अधिकारका लागि धेरै काम गरेको दाबी गर्दै कम्युनिष्टहरुका जस्तो भाषण र नारा लगाउदै मात्रै नहिडेको बताए। उनले भने, ‘नेपाली कांग्रेसका पालामा आदिवासी जनजाति उत्थान प्रतिष्ठानको स्थापना भएको हो। कांग्रेसका पालामा संसदमा आइएलओ १६९ लाई संसदमा मैले नै लगेको हो। अनि कांग्रेसले नै आदिवासी जनजातिका माग सम्बोधन गर्नका लागि संविधानमा ती माग सम्बोधन गर्छौ भनेको मैले नै २० बुँदे संझौता गरेको हो।’

जनजातिको सवाल स‌ंविधानमा समेट्नुपर्ने विषय कांग्रेसले नै उठान गरेको स्मरण गराउँदै पौडेलले थपे, ‘संविधान संशोधन गर्नुछ भनेर कांग्रेसले नै भनेको हो। हामीले नारा मात्रै लगाएका छैनौ। काम पनि गरेको छौ। जातीय राज्य आदिवासी जनजातीको पक्षमा चर्का नारा लगाउने प्रचण्ड र केपी ओली जी अहिले एउटै पार्टीमा हुनुहुन्छ।’

मधेशमा सवैभन्दा ठुलो शत्रु केपी ओली हुने अनि सत्तामा केपी ओलीसंग घाँटी जोड्ने, यी सवै ढोंङ भएको उल्लेख गर्दै यस्तै प्रवृतिले गर्दा जनजाति आन्दोलन, मधेशको आन्दोलन पछि परेको पौडेलको दाबी थियो।

२००७ सालको आन्दोलन देखि नै कांग्रेसले समानताको आन्दोलन गरेको स्मरण गराउँदै उनले छोइछिटोको अन्त्यका लागि २००७ सालको आन्दोलन भएको बताए।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहिबार  ७ : १९ बजे