३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

महाकवि देवकोटाको निवास अब सङ्ग्रहालय बन्ने, प्रज्ञा प्रतिष्ठानले २ करोड ५० लाखमा किन्यो



काठमाडाैं– ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गरेका थिए। जग्गाप्राप्ति नहुँदा निर्माणमा ढिलाइ हुँदै आएको थियो। अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गति पाउने अपेक्षा गरिएको छ।

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय डिल्लीबजारमा आइतबार २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ०९ बजे